दैनिक रूपमा ज्याला मजदुरी गर्दै जिविका चलाइ रहेका श्रमिक महिलाहरूले समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् ।
घर तथा भवन निर्माण, सडक स्तरोन्नति र ढुङ्गा, गिट्टी र बालुवा बोक्ने काममा पुरूष सरह आफूहरूले पनि श्रम गर्दै आएको भए पनि ज्यालामा भने अझै पनि विभेद भोग्नु परेको श्रमिक महिलाहरूको गुनासो रहेको छ ।
पुरूष र महिलाले समान काम गरेता पनि श्रमिक महिलाहरूले भने ज्यालामा विभेद भोग्दै आएको महिला अधिकारकर्मी सरस्वती नेपालीले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘पुरुषको भन्दा बढी समय र क्रियाशील भएर महिलाहरू काम गर्छन । तर, उनिहरूले भने पुरूषको भन्दा कम ज्याला पाउछन् ।’
पुरूष जनशक्ती वैदेशिक रोजगारीमा भारत लगायत अन्य खाडी मुलुकमा जाने भएकाले पनि बैतडी लगायत जिल्लामा घर तथा भवन निर्माण, सडक स्तरोन्नति , ढुङ्गा, गिटी र बालुवा बोक्ने काममा पुरूष सँगसँगै खटिने महिलाहरू बढी भएको निर्माण व्यवसायी संघ बैतडीका महासचिव विकास चन्दले बताउनु भयो ।
यहाँका निर्माण व्यवसायीहरुले तोके अनुसारको ज्याला दिने गरेको भएपनि प्राय महिला कामदारहरू बिचौलियाको कारणले कम ज्याला पाइरहेको चन्दको भनाइ छ ।
उहाँले भन्नु भयो – ‘यहाँ कामदार पाउन निकै गर्हो छ । तराईबाट कामदार ल्याएर काम गराइरहेका छौँ । तराईका जिल्लाबाट एकमुष्ट रूपमा आउने कामदारहरूबाट बिचौलियाले कमिशन लिने गरेकाले ज्यालामा विभेद भएको छ ।’
संविधानले समान कामको समान ज्याला हुनु पर्छ भनेपनि यहाँका महिलाहरू चुपचाप दैनिक ज्यालामा विभेद सहिरहेको दशरथचन्द नगरपालिका– ४ की वटा सदस्य पार्वती भुलले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘निर्वाचित हुनु भन्दा पहिले म पनि यस्तै गिट्टी कुट्ने र ढुङ्गा बोक्ने काम गर्थे । हामीहरूलाई पुरूषको भन्दा कम ज्याला दिने गरिन्थ्यो ।’
कामबाट हटाइ दिने डरले गर्दा असमान ज्याला भएपनि चुपचाप काम गर्नु पर्ने बाध्यता रहेको स्थानीय महिला मजदुर गोमती भुलले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘पुरूषहरू बिडी चुरट खादा र अन्य गफ गर्दा पनि विश्राम गर्छन । हामी निरन्तर काममा हुन्छौँ । तर, पुरुषको भन्दा हामीलाई ज्याला कम दिइन्छ ।’
समान ज्यालाको आवाज उठाउँदा आफूले गर्दै आएको काम नपाइने डरले असमान ज्यालामा पनि सहेर काम गर्नु पर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी श्रमिक महिला कल्पना लावडले दुखेसो पोख्नु भयो ।
सुर्नयाँ गाउँपालिकाका अध्यक्ष बिरबहादुर विष्टले समान काममा असमान ज्याला दिएको भन्ने जानकारी आएको खण्डमा आफूहरू श्रमिक महिलाको न्यायका लागि पहल गर्ने बताउनु भयो ।
नगरपालिकाबाट सञ्चालन हुने विकास निर्माणका काममा समान ज्याला दिने गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिह थापाले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘हामीले ज्यालामा विभेद गरेका छैनौ । कामदारले पैसा बुझेको भर्पाइ दिदा हामीलाई सबैको समान ज्याला भएकै भर्पाइ दिने गरिएको छ ।’
जिल्लास्थित ज्याला निर्धारण समितिले निर्माण कार्यको काम गर्ने मदजुरको हकमा अदक्ष कामदारका लागि ६ सय र दक्ष कामदारका लागि ८ सय रुपियाँ दैनिक ज्याला तोकेको छ । तर , श्रमिक महिला कामदारहरूले भने ४ सयदेखि ६ सय रूपियाँमा नै चित्त बुझाइरहेको अवस्था छ ।