भूकम्प पछि प्रहरी चौकी पुनर्निर्माण नहुँदा वारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीको सौरपानी प्रहरी चौकी टेन्ट मुनी छ । भूकम्प गएको चार वर्ष बित्द पनि प्रहरी चौकीको नयाँ भवन बन्न सकेको छैन ।
भूकम्प लगतै टागिएका दुई टेन्ट र एक टहरोमा प्रहरी बस्ने गरेको स्थानीय दिपक ढकालले बताउनुभयो । ‘दुई ओटा टेन्ट थिए, एउटा च्यातिसकेको छ, अहिले पनि एउटा टेन्टमा प्रहरी सुत्ने बस्ने र टहरोमा खाना बनाउने गरेका छन्,’– उहाँले भन्नुभयो । चार वर्ष देखि टहरोको बसाई कष्टकर बनेको प्रहरीहरु बताउँछन् ।
चैत—वैशाखमा हावाहुरी, असार—साउनमा बर्खे भेल र हिउँदमा चिसोले सताउने उक्त प्रहरी चौकीका प्रहरीहरुले बताए ।
भूकम्प अगावै निर्माणाधीन रहेको प्रहरी चौकी भवन पनि २०७२ वैशाख १२ को भूकम्पले भत्काएको सौरपानीका स्थानीय ढकालले बताउनुभयो । ‘१४ गते ढलान थियो, १२ गते बन्दै गरेको चौकीको भवन भूकम्प भत्कायो,’– उहाँले भन्नुभयो । त्यसपछि भने चौकीको भवन निर्माण हुन सकेको छैन ।
टेन्ट भित्रको बसाई कष्टकर वनेको प्रहरीहरु बताउछन् । सौरपानी प्रहरी चौकिमा असइको नेतृत्वमा सात जनाको दरबन्दि छ । प्रहरी चौकिको भवन निर्माणका लागि पहल भइरहेको वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । दुई रोपनी जग्गा खोजेर भवन निर्माणको लागी प्रयास भइरहेको उहाँको भनाइ छ ।
‘जग्गा खोजिरहेका छौ“, यहि आर्थिक वर्षबाट भवन निर्माण सुरु गर्ने गरि पहल भइरहेको छ,’– भट्टले भन्नुभयो । सौरपानी प्रहरी चौकीको अवस्थाबारे प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले पनि बताउनुभयो । उहाँले आवश्यकता अनुसार भवन पुनर्निर्माण भइरहेको बताउनुभयो ।

