कोरोना भाइरस (कोभिड–१९) को शङ्कास्पद बिरामी आएमा उपचारको लागि रसुवामा आइसोलेसन कक्ष स्थापना गरिएको छ । भने काभ्रे जिल्लामा उपकरण अभावले कक्ष स्थापना हुन सकेकाे छैन ।
कारोना भाईरस जोखिमप्रति उच्च सतर्कता अपनाउने क्रममा आइसोलेसन वार्ड स्थापना गरिएको हो । जिल्लामा शङ्कास्पद बिरामी पाइएमा प्रारम्भिक जाँचको लागि आइसोलसन वार्डमा राख्न चीनसँग सिमाना जोडिएको रसुवामा जिल्ला अस्पतालमा आइसोलेसन कक्ष सुरु गरिएको मेडिकल सुपरिटेण्डेन डाक्टर अनिलकुमार खरेलले बताउनु भयो ।
रसुवा जिल्ला इन्सेक प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमण भएको बिरामी फेला परेका छैनन् । अस्पतालमा प्रयोग बिहीन अवस्थामा रहेका आल्मुनियमका बेडहरूलाई प्रयोगमा ल्याएर आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो । कार्यालयले नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहकार्यमा बजारमा औषधि तथा दैनिक उपभोग्य सामग्रीको अवस्थाकाबारे तथ्याङ्क लिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोना–१९ भाईरस सङ्क्रमणको उच्च जोखिममा राखेको भन्दै आईसोलेसन कक्षको व्यवस्था आवश्यक देखिएको उहाँले बताउनु भयो । पाँच महिनासम्मका लागि पुग्ने सामग्रीको स्टक राख्नका लागि आग्रह गरिएको र जोखिम बढेको खण्डमा रसुवा र नुवाकोटको सीमा क्षेत्र उत्तरगया गाउँपालिका बेत्रावतीमा हेल्थ डेक्स स्थापना गरिने उहाँले बताउनु भयो ।
अस्पतालमा अहिले मौसमी फ्लुका बिरामीको चाप बढ्दै गएको भएपनि कोरोनाको शङ्का लागेका बिरामी नआएको र केही महिना अघि शङ्का लागेर परीक्षण गरिएका एक जना बिरामीमा कोरोना भाइरस नभएकोले कसैलाई पनि कोरोना भाइरसको शङ्का लागेमा अस्पतालमा तत्काल आउन डाक्टर खरेलले आग्रह गर्नुभयो । परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), मास्क, डिजिटल थर्मोमिटरलगायतका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ ।
उपचारका लागि अवश्यक पर्ने अपुग सामग्रीको माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले बताउँनु भयो । नमुना परीक्षणका गर्न खकार तथा र्याल टेकु अस्पतालमा पठाइने भएकाले बिरामीलाई पठाउन नपर्ने अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित बिरामी आएमा आइसोलेसनमा राखेर उपचार गरिने र काठमाडौं रिफर गर्न आवश्यक परेमा एम्बुलेन्स तयारीमा राखिएको अध्यक्ष कुँइकेलले जानकारी दिनुभयो । रसुवागढी नाकामापनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा अस्थायी संरचना निर्माण कार्य सुरु भएको छ ।
अहिले नाकामा दुई जना एमबिबिएस डाक्टर खटाइएको छ भने सिमा नाकामा रहेको हेल्थ डेक्समा चारजना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रजिअ भण्डारीको बताउनु भयो ।
तर काभ्रेबाट इन्सेक जिल्ला प्रतिनिधि हिरामान वाइवाले जनाए अनुसार यहाँभने सङ्क्रमण विरुद्ध सतर्कताको लागि आइसोलेसन वार्ड स्थापना गर्न सकिएको छैन ।
उपकरण अभावका कारण काभ्रेका दुई ठुला अस्पतालले कारोना भाइरस सङ्क्रमित भेटीएमा प्रारम्भिक परीक्षणको लागि राख्न आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने नसकेको गुनासाे छ । फागुन २० गते सदरमुकाम धुलिखेलमा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले कोरोनाभाइरसको सङ्क्रमितका लागि धुलिखेल सामुदायिक अस्पताल र बनेपा स्थित शीर मेमोरियल अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो ।
बैठकले निर्णय गरेको एकहप्ताबढी हुदासम्म सङ्घीय राजधानीबाट ३० किलो मिटर टाढा रहेको धुलिखेल अस्पताल र २५ किलोमिटर दुरीमा रहेको शीर मेमोरियल अस्पतालले आइसोलेसन कक्ष सञ्चालनमा आएका छैनन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा पाँच/पाँच बेडको आइसोलेसन कक्ष तयार भएको उपकरण माग गरिएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाले आइसोलेसन वार्डको तयारी पुरा भएको बताउनु भयो । धुलिखेल अस्पतालका सुचना अधिकारी दिपन पोखरेलले भने आइसोलेसन कक्ष सञ्चालन गर्न आश्वयक सामग्री पर्याप्त नभएको बताउनु भयो ।
शीर मेमोरियल अस्पतालका डाक्टर एञ्जिला बस्नेतले फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) समेत अहिलेसम्म नपाएको बताउनु भयो । ‘बिरामी आइहाले उपचार गर्नका लागि स्वास्थ्य कर्मी आफै पनि सुरक्षित हुनुपर्छ, डाक्टर बस्नेतले भन्नुभयो ‘ फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट अहिलेसम्म आइसकेको छैन् ।’