हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बसोबास गर्ने अधिकांश महिलाले भारी नबोकी चुलो बल्दैन । बिहान बेलुका चुलो बालेर हातमुख जोड्नका लागि भारी बोक्नु पर्ने उनीहरूको बाध्यता छ ।
यहाँका महिला हातमुख जोड्न मात्र होइन भारी नबोकेर घर गुजारा नचल्ने गुनासो विगत १०÷१२ वर्षदेखि सिमकोटमा भारी बोक्दै आएकी सिमकोट गाउँपालिका–७ की ५७ वर्षीया बासु रावतले गुनासो गर्नु भयो ।
देशभरी १ सय १० आंै अन्तरर्राष्ट्रिय श्रमिक महिला दिवस मनाई रहँदा हुम्लाका यी महिलाहरूले ढाडको भारी अझै विसाउन पाएका छैनन । २१ औँ शताब्दीमा पनि जिल्लाका महिलाको दुःख जस्ताको तस्तै रहेको छ । भारी नबोक्ने हो भने ती महिलाका घरमा बिहान बेलुकाको छाक टार्न चुलोमा आगो पनि बल्दैन ।
दिउँसो भारी नबोकेपछि बिहान र बेलुका हातमुख जोड्न पनि गाह्रो हुन्छ । हातमुख जोड्न मात्र नभई बालबच्चा पढाउन र घरगर्जो टार्न पनि भारी कै भर पर्नु पर्छ भन्नुहुन्छ रावत जस्तै भारी बोकेरे आफ्ना ६ जना छोराछोरीको पालन पोषण गरी रहनु भएकी सिमकोट गाउँपालिका–३ की ४६ वर्षीया बाटु सुनार ।
उहाँ भन्नु हुन्छ ‘एक दिन भारी नबोक्ने हो भने घरमा पनि चुलो बल्दैन ।’ यो सुनारको मात्र समस्या होइन । हुम्ला जिल्लाका ग्रामिण क्षेत्रका महिलाले पनि यस्ता खाले समस्या भोग्दै आएका छन् । जिल्लामा गरिब विपन्न महिलाको जीवनस्तर माथि उठाउनका लागि वर्षेनी विभिन्न खालका अभियान, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रममा लाखाँै रुपियाँ खर्च गरिन्छ । गरिब विपन्न महिलाको जीवनस्तर माथि उठाउनका लागि खोक्रो नारा बनाइन्छ । वास्तवमा नाराहरू भाषणमै सिमित रहेको सिमकोटका स्थानीय महिला अगुवा शुसीला रोकायाले गुनासो गर्नु भयो ।
देशभर यो वर्ष नारी दिवस नमनाए पनि विगतका वर्षहरूमा सो दिवस मनाउने गरेको यर्थात नै छ, तर दिउसो नारी दिवस मनाउने बेलुका घरमा आएपछि पुरुषहरूको व्यवहार जस्ताको तस्तै देखिने गरेको रोकायाले बताइन् । नारी दिवसको अवसरमा विभिन्न अधिकारका कुरा गरिन्छन तर व्यवहारमा लागु हुन सकेको छैन ।
जबसम्म पुरुषहरूको चेतनामा परिवर्तन हुँदैन तबसम्म हुम्लाका महिला दिदिबहिनीहरूको समस्या जस्ताको त्यस्तै, जिवित रहने प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले बताउनु भयो । यसको मुख्य कारण आर्थिक अभाव, अशिक्षा, भौगोलिक विकटता र जनचेतनाको कमी हुनाले पनि विभिन्न चुनौतीहरू व्यहोर्नु परेको र यसका कारण पुरुष भन्दा महिलाहरू धेरै हिंसामा परेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
यसमा विशेष गरेर महिला अधिकार सम्वन्धि विभिन्न जनचेतना मुलक कार्यक्रमहरू संचालन गरी महिलाको हकहितका लागि सबै एकभएर लाग्नु पर्ने हुम्लाका महिला अगुवाको भनाई छ । मदिरा, छाउपडी, बहुपति प्रथा पनि जरैबाट उखेल्ने पहल गरेपछि मात्र हुम्लामा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । यी भारी बोकेर गुजारा चलाउने महिलाहरूको ढाडमा बोकेका भारी हटाई सीप सिकाई आत्मनिर्भर गराउन सकेपछि मात्र नारी दिवसमा लगाइएका नाराले सार्थकता पाउने छ हुम्लाकी अगुवा महिलाको भनाई छ ।
