INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप,न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह

इनरूवा नगरपालिका–९ का ३५ वर्षीय उपेन्द्र यादव, ३८ वर्षीय जोगनारायण यादव, ५० वर्षीय डम्बर नारायण यादव र १५ वर्षीय अजय यादवले प्रहरीले उजुरी दर्ता नगरेको आरोप लगाउँनु भएको छ ।

इनरूवा नगरपालिका–९ बबियाबाट बबिया–५ जोड्ने ग्राभेल सडकको काम गरीरहेको फोटो खिचेको आरोपमा फागुन २१ गते कुटपिट गर्ने इनरूवा नगरपालिका–९ का ५८ वर्षीय बलराम यादव,सोही ठाँउका ५२ वर्षीय सुरेन्द्र यादव,४० वर्षीय सुखराम यादव,५० वर्षीय बिनोद यादव,४४ वर्षीय रामकुमार यादव,४२ वर्षीय लक्ष्मण यादव,२८ वर्षीय बैजनाथ यादव र ३२ वर्षीय प्रमोद यादव विरूद्ध फागुन २२ गते ज्यान मार्ने उद्योगमा दिएको उजुरी प्रहरीले नलिएको पीडित पक्षको आरोप छ ।

फागुन २१ गते बाटो निर्माणका क्रममा ३५ वर्षीय उपेन्द्र यादवले फोटो खिचेपछि बाटो उपभोक्ता समितिका अध्यक्ष ३८ वर्षीय दुखराम यादवलगायतले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

आरोपितहरूले बाटो निर्माण गरेको फोटो अख्तियारमा दिने ? भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले आरोपितहरू विरूद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको र घटनाका बारेमा बुझ्दा सामान्य झडप भएकाले घाँउजाँच गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताउनुभयो ।

कुटपिटबाट घाईते भएकाहरूको फागुन २१ गतेदेखि जिल्ला अस्पतालमा उपचार भईरहेको छ । कुटपिट घटनामा वडा–९ का वडाध्यक्ष वसीरमुद्दिन मन्सुरीको संलग्नता रहेको र घटनालाई राजनीतिक रङ्ग दिएको पीडित पक्षको आरोप छ ।

यसैबीच प्रहरीले उजुरी दर्ता नगरेको भन्दै पीडित पक्षले न्यायका लागि पहल गरीदिन इन्सेक,राष्ट्रिय मानव अधिकार आयोगलगायत आग्रह गरेका छन् ।

इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्मासँग उजुरी नलिएको विषयमा जिज्ञासा राख्दा पहिले घाऊजाँच गराएको र थप अनुसन्धान गरी कारबाही अघि बढाउने बताउनु भएको छ ।

 

 

 

 

अन्य

भिडियो