सरकारले एक गाउँ एक कृषि प्राविधिक राख्ने प्रावधान लागु गरेको भएता पनि आफूहरूले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी व्यहोर्नु परेको के.आई सिं.गाउँपालिकाका कृषकहरूले गुनासो गरेका छन् ।
के.आई सिं. गाउँपालिका –४ कारिगाउँका कृषक गणेश कार्कीले आफूले लगाएको तरकारी खेतिमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह प्राविधिकबाट पाउन नसक्दा तरकारी खेति नष्ट भएको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘समयमै प्राविधिक सल्लाह पाएर औषधि गर्न पाएको भए रोग निको हुन्थ्यो होला । तर, कृषि प्राविधिक नपाँउदा आलु ,काउली,टमाटर लगायतका बालिमा यस वर्ष रोग लागेर नष्ट भयो । लगानी सबै खेर गर्यो ।’
के.आई.सिं.गाउँपालिका – ३ बासुदेबि चरिकोटका कृषक जोगी सिंह बडैलाको गुनासो पनि त्यस्तै छ । कृषि प्राविधिकहरू गाउँमा नआउने गरेका कारण आफूहरूले लगाएको तरकारी र बालिमा लगेको रोगको रोकथाम गर्न नसक्दा रोक्सानी व्यहोर्नु परेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘कृषि प्राविधिकहरू कहिलै पनि कृषकको घरखेतमा आउने गरेका छनन् । प्राविधिकहरू नआएकै कारण तरकारी खेतीमा कुन प्रकारको रोग लागेको हो ? कस्तो खालको समस्या हो ? बुझ्न सकिएन । ’
विभिन्न जातका साग तरकारीका बिउ लगाउदा बिउमा रोग लागि कुहिएको र गाउँपालिका कृषि शाखामा प्राविधिकलाई खबर गर्दा समेत कुनै वास्ता नगरेको के.आई.सिं. गाउँपालिका– ६ फलेडिका किसान केशवराज भट्टको आरोप छ ।
पटकपटक गाउँपालिकास्थित कृषि शाखामा पुगी कृषि प्राविधिकहरूलाई आफूहरूले लगाएको तरकारी खेतीको अनुगमन गर्न अनुरोध गरेको भए पनि कर्मचारी अभाव देखाइ आफूहरूको समस्यालाई समाधान गर्न आलटाल गरेको के.आई.सिं गाउँपालिका – ७ चौडका किसान योगेन्द्र भण्डारीले आरोप लगाउनु भयो ।
वर्षौदेखि आफूले तरकारी खेती गर्दै आएको भए पनि अहिलेसम्म कृषि प्राविधिक सल्लाह पाउन नसकेको के.आई.सिं. गाउँपालिका – ३ कापडिगाउँका किसान घनश्याम भट्टले गुनासो गर्नु भयो ।
कृषक महासंघका जिल्ला अध्यक्ष भरत बोहराले कृषि प्राविधिक गाउँमा पुगाउन नसकिनु दुखद भएको बताउँदै किसानका समस्या समाधान गर्न नसक्ने सरकारले कृषिमा आत्मनिर्भर बनाउँछु भनेर सम्भव नहुँने बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘जिल्लामा कृषि ज्ञान केन्द्र भएता पनि ज्ञान केन्द्रले प्रभावकारी काम गर्न सकेको छैन् । कृषि ज्ञान केन्द्रको भुमीका प्रभावकारी बनाउनु पर्छ ।’
केन्द्र तथा प्रदेश सरकारले दरबन्दी अनुसार कर्मचारी नपठाउँदा समस्या भएको र अब गाउँपालिकाले गाउँपालिकाकै स्रोतबाट भएपनि किसानको समस्यालाई बुझेर सेवा दिने के.आई.सिं.गाउँपालिकाका उपाध्यक्ष मिना बिष्टले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘ एक जना कार्यालयमा बस्नु पर्ने भएको हुँदा एक जना प्राविधिकले कृषकको खेतबारीमै पुगेर प्राविधिक सल्लाह दिन नसकेको हो । कृषकहरूको गुनोस र माग ठिक छ । हामीले गाउँपालीकाको बजेटबाट पाँच जना थप कर्मचारीलाई नियुक्ती गरिसकेका छौँ । अब कर्मचारीलाई छिट्टै किसानको खोतबारीमा पुग्ने वातावरण बन्छ । किसानहरूले समस्या झेल्नु पर्दैन । ’
जिल्लाकै सबै भन्दा बढि तरकारी उत्पादन गर्ने यस गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर कृषि लक्षीत कार्यक्रम सञ्चालन गरेको भएता पनि गाउँपालिकामा कृषि प्राविधिक नहुँदा कृषकले प्राविधिक सेवा पाउन भने सकेका छैनन् ।
सात ओटा वडा रहेको यस गाउँपालिकामा अहिले एक जना मात्रै कृषि प्राविधिक रहेका छन ।