INSEC Online

📅 २०८३ जेष्ठ २१

श्रमिक महिलाहरूलाई छैन महिला दिवसको बिदा

फागुन २५ गते बिहान ७ बजे चिसोको पर्वाह नगरी भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको  इँटा भट्टामा काम गर्न पुगेकी सिन्धुपाल्चोक माङ्खाकी ४० वर्षीया रामकुमारी परियारलाई ११० औ अन्तराष्ट्रिय महिला दिवस भन्ने थाहा छैन ।

यस वर्षका लागि ठेक्का लिएको तीन लाख इँटा बनाई सकेर चैतको अन्तिममा घर फर्कन आतुर परियारलाई महिला दिवसको प्रवाह पनि छैन । त्यसो त सरकारले दिवसमा सार्वजनिक बिदा दिएको छ । तर परियारलाई बिदा पनि छैन । छ त केबल हिजो अस्ति परेको पानीले भिजाएको इँटा र त्यसले पारेको नोक्सानको चिन्ता । उहाँ भन्नुहुन्छ—“दिवस के हो थाहा छैन, हामीलाई बिदा पनि छैन, पानीले सपै इँटा बिग्रियो, नोक्सान कति परेको छ, यस्तो आपतमा के बिदा ।”

Photo20200309bhaktapur

परियारलाई मात्रै हैन, भकुन्डेकी कल्पना बिकलाई पनि महिला दिवस र बिदाको पत्तो छैन । तीन सन्तानकी आमा २४ वर्षीय बिकलाई चिन्ता छ त केबल साना तीन सन्तानको । उहाँ भन्नुहुन्छ ‘ हामीलाई गाह्रो, बच्चाहरूको चिन्ता छ ।’ महिला दिवसका बारेमा उनीहरूलाई चासो पनि छैन । इँटा बोक्दै गर्नुभएको १७ वर्षीया टुल्की बिकलाई पनि एक वर्षकी एउटा छोरीको चिन्ता छ । पतिसँगै इँटा भट्टामा काम गर्दै आउनुभएकी बिकलाई यस वर्ष ठेक्का लिएको इँटा सबै सिध्याउने चटारो छ ।

‘के हो महिला दिवस, के गर्छ दिवसले, खान दिदैन, लाउन दिदैन, काम सकेर पैसा बोकेर घर जान हतारो छ हामीलाई, गाउँमा मकै छर्न ढिला भैसक्यो’ सूर्यविनायक नगरपालिका–८ सिपाडोलको इँटा भट्टामा इँटा बोक्न व्यस्त शर्मिला धामीले भन्नुभयो । रामेछापबाट दुई छोरी, एक छोरा र पतिसँगै  सिपाडोलको इँटा भट्टामा इँटा बोक्न आउनुभएको २७ वर्षीय पवित्रा कार्कीलाई दिवसको प्रर्वाह छैन । उहा भन्नुहुन्छ—‘यसपाली एक लाख रुपैँयामा इँटा पार्ने ठेक्का लिएका छौ, अस्तिको पानीले ईटा विगार्यो, अब ठेक्का लिएको इँटा बनाई सकेर, पैसा लिएर घर जान हतारो छ, मकै छर्नु छ ।’

चाँगुनारायण नगरपालिका महिला विकास शाखाकी प्रमुख नीला घिमिरे जति नै नारा दिएर दिवस मनाएपनि वास्तविक श्रमिकसम्म दिवसको अर्थ र अधिकार बारेमा बहस हुनु जरुरी रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ—“महिलाको हक, अधिकारका लागि दिवसको महत्व छ भन्ने पनि थाहा छैन महिला श्रमिकलाई, फेरी उनीहरूसम्म महिला अधिकारका कुरा पुगेको छैन, बुझ्नहरू पनि दिवस एनजिओले मनाउने गरेको बुझाई छ ।” श्रमिक महिलाहरूको अवस्था हेर्दा ज्यादै मन कुडिने गरेको उहाँले बताउनु भयो ।

भक्तपुरको ६१ वटा भट्टामा पुरुषभन्दा बढी महिला श्रमिक छन् । इँटा भट्टामा करिब १८ हजार कामदार रहेको भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाई ह्याम्बा बताउनु हुन्छ । दिवसको बेलामा इँटा भट्टा सञ्चालकले बिदा दिए पनि नबस्ने गरेको उहाँको भनाई छ ।

अन्य

भिडियो