चौबिसे गाउँपालिका –२ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी फागुन २० गतेदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले बताउनु भयो । विद्यालय एक साताका लागि बन्द गरिएको उहाँले बताउनु भयो ।
बिरामीहरू पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द गरिएको र सो को बारेमा वडाध्यक्ष ममिन्द्र लिम्बूलाई समेत जानकारी गराइएको खतिवडाले बताउनु भयो ।
फागुन १८ गते २ जना विद्यार्थी कक्षाकोठामा झोक्रने, रूघाखोकीको समस्या देखिएको र १९ गते एकै दिन १२ जना अस्वस्थ्य भएपछि विद्यालय नै बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक महेश सिंहले जानकारी दिनुभयो ।
विद्यार्थीहरूमा हिड्न नसक्ने, नबोल्ने खालको लक्षण देखिएको उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ लगायतको सहमतिमा विद्यालय बन्द गरिएको प्रधानाध्यापक सिंहले बताउनु भयो ।
कक्षा १ देखि ३ सम्म सञ्चालनमा रहेको विद्यालयमा तीन ओटै कक्षाकोठाका विद्यार्थी बिरामी भएका छन् । विद्यालयमा गएर विद्यार्थीको जाँच गर्दा मौसमी रूघाखोकीको समस्या देखिएको चौबिसे गाउँपालिका –२ मुढेबासमा रहेको मुढेबास स्वास्थ्य चौकीका इन्चार्ज योगराज लिम्बूले बताउनु भयो ।
विद्यालयमा देखिएको समस्या समाधानका लागि जिल्लास्तरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र धनकुटा अस्पतालसँग समेत वडा कार्यालयले समन्वयको तयारी गरेको वडाध्यक्ष ममिन्द्र लिम्बूले बताउनु भयो ।
धनकुटा अस्पताल विकास समितिका अध्यक्ष टङ्क चुहानले मुढेबास स्वास्थ्य चौकीले विद्यार्थीको चेकजाँच गरेर अवस्था सामान्य भन्ने जनाएको तर, आवश्यक परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाउन अस्पताल तयार रहेको बताउनु भयो ।