मकवानपुरको मनहरी गाउँपालिकाको छैटौ गाउँसभाले नागरिकको स्वास्थ अधिकारलाई सुनिश्चित गराउन स्वास्थ्य तथा सरसफाई ऐन २०७६ पारित गरेको छ ।
फागुन २१ गते भएको गाउँसभाले स्वास्थ्य तथा सरसफाई ऐन २०७६ सहित गाउँपालिकाको पूर्वाधार व्यवस्थापन ऐन २०७६ र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ पारित गरेको बिधायन समितिका संयोजक आनन्द घलानले बताउनु भयो ।

नौ ओटा वडा रहेको मनहरी गाउँपालिकामा एक÷एकओटा प्राथमिक स्वास्थ केन्द्र, स्वास्थ चौकी र सामुदायिक स्वास्थ इकाई सञ्चालनमा छन् । गाउँसभाबाट पारित स्वास्थ तथा सरसफाई ऐन २०७६ ले गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ सेवा उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ । जस अनुसार चैत महिना भित्र गाउँपालिकाका सबै क्षेत्रका बासिन्दालाई सहज स्वास्थ सेवा पुर्याउन थप सात ओटा आधारभूत स्वास्थ केन्द्र विस्तार गर्ने उपाध्यक्ष मनिला बिष्टले बताउनु भयो ।
गाउँकार्यपालिकाको बैठकले पारित गरेको स्थानीय तह सञ्चालनका लागि आवश्यक १३ ओटा कार्य विधिहरूलाई गाउँसभाले अनुमोदन गरेको छ । गाउँसभामा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले तुलनात्मक रुपमा कामहरू अघि बढिरहेको र मनहरीको समृद्धिको लागि स्थानीय सरकारले प्रयत्न गरिरहेको बताउनु भयो । यस्तै गाउँपालिकाभित्र बसोबास गर्दै आएका सिमान्तकृत बोटे समुदायका मानिसलाई सहज जीवन यापन गराउन सीपमूलक कामहरू प्रदान गर्ने बताउनु भयो ।
सभामा शून्य समयमा बोल्दै दलित महिला सदस्य गङ्गा सुनारले गाउँपालिकाका विकट वडाहरूमा जातीय छुवाछुत अझै कायम रहिरहेकाले हटाउनका लागि ध्यानाकर्षण गराउनु भएको थियो । यसैगरी सदस्य उमाकुमारी नेपालीले पालिकाको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि नेतृत्वको ध्यानाकर्षण गराउनु थियो ।
गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको गाउँ सभामा गाउँपालिकाले चालू आर्थिक वर्ष ०७६/७७ मा भए गरेका काम कारवाही र उपलब्धीहरूको विवरण संशोधित विनियोजन विधेयक उपाध्यक्ष मनिला बिष्टले प्रस्तुत गर्नु भएको थियो ।
यसैबीच गाउँ पालिकाले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरसफाइ र व्यवहारमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ । फागुन २२ गते पालिकाले सूचना जारी गर्दै संक्रमणबाट बच्न आग्रह गरेको हो । पारिवारीक स–साना समारोह बाहेक मेला महोत्सव जस्ता सार्वजनिक कार्यक्रम सञ्चालन नगर्ने र सहभागी नहुन सूचना मार्फत आग्रह गरेको छ ।