INSEC Online

📅 २०८३ जेष्ठ २१

मिलापत्र मै टुङ्गिन्छन् महिला हिंसा घटनाका उजुरी

न्यायको माग गर्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने अधिकांश घरेलु हिंसाबाट पीडित महिलाहरूको उजुरीमा मिलापत्र हुने गरेको पाइएको छ । प्रहरीमा मात्रै नभई नगर पालिकाहरूको न्यायिक समितिमा आएका महिला हिंसा सम्बन्धी उजुरीहरू पनि मिलापत्र नै हुने गरेको पाईएको हो ।

०७५ माघदेखि ०६७ माघ सम्ममा महानगरीय प्रहरी परिसर भक्तपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा १ सय ४३ ओटा महिला हिंसाको उजुरी दर्ता भए । जसमा अधिकांश उजुरीहरू छलफल गरि मिलापत्रबाटै टुङ्ग्याइएको केन्द्रकी असई सानु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार दर्ता भएका उजुरी मध्ये शारीरिक यातना, कुटपिट गरि घर निकाला गरिएकोमा ४३ उजुरी दर्ता भए । जसमा ३९ ओटामा मिलापत्र गराएर पठाएको उहाँले जानकारी दिनुभयो । चार ओटा उजुरीकर्तापछि सम्पर्कमा नै नआएकाले त्यति कै रहेको छ । त्यस्तै शारीरिक तथा मानसिक र आर्थिक यातना दिएको ९६ उजुरी दर्ता भए । शारीरिकसँगै मानसिक यातना दिने र आवश्यक खर्च समेत नदिई आर्थिक अभावमा पारेर यातना दिने घट्नाको ९६ उजुरी दर्ता भएको असई सानु श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसमा ८४ ओटाको मिलापत्र गराएको र १२ ओटा उजुरी उपर पीडित र आरोपित पक्ष नआएकाले त्यस उपर कुनै कारवाही नभएको असई श्रेष्ठको भनाई छ । त्यस्तै यौनजन्य हिंसामा चार ओटा उजुरी दर्ता भएकोमा तीन ओटाको मिलापत्र गराएको र एक ओटापछि सम्पर्कमा नआएका उहाँले जानकारी दिनुभयो ।

बहुविवाह तर्फ १६ ओटा उजुरी दर्ता भएकोमा कुनै पनि उजुरीमा मिलापत्र नगराई सिधै कानूनी प्रक्रिया पुर्‍याएर जिल्ला अदालतमा मुद्दा चलाएको असई श्रेष्ठले बताउनुभयो । खान लाउन नदिएको, शारीरिक, आर्थिक र मानसिक यातना दिएको, यौन जन्य यातना दिएको भनेर अधिकांश महिलाबाट आफ्नै पति बिरुद्ध उजुरी आउने गरेको पाइएको छ । यस्ता उजुरी उपर दुईपक्षबीच छलफल गराई सकेसम्म मिलापत्र गराई पठाएपछि ती घटनाहरूमा थप दोहोरो उजुरी नआउने गरेको प्रहरीको भनाइ छ । ‘मिलापत्र गरेर पठाएको घटना पुनः उजुरीमा आएको छैन, सम्बन्ध राम्रै भइरहेको होला भन्ने हो’ श्रेष्ठले भन्नुभयो ।

त्यस्तै बलात्कारको घटनाबाट ३३ जना, बलात्कार प्रयास घटनामा तीनजना महिला, बालयौन दुर्व्यवहारमा दुई जना बालिका पीडित भएका छन् । मानव बेचबिखनका घटनामा एकजना महिला पीडित भएको उजुरी भक्तपुर प्रहरीमा दर्ता भएको छ । यी उजुरीमा भने मिलापत्र नगराई जिल्ला अदालतमा मुद्दा दर्ता गरेर कानूनी कारवाहीमा अगाडि बढेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो