INSEC Online

📅 २०८३ जेष्ठ २२

आशिंक प्राध्यापकहरूको आन्दोलनका कारण  पठनपाठन प्रभावित

भोजपुर नरपालिका–७ डाँडागाँउस्थित भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरूले करार नियुक्तिको माग गर्दै चरणवद्ध आन्दोलन गरेका कारण फागुन ११ गतेदेखि पठनपाठन प्रभावित भएको छ ।

क्याम्पसमा दरबन्दी रिक्त हुँदा समेत आंशिक प्राध्यापकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै प्राध्यापकहरूले पठनपाठन ठप्प पारेका छन् ।

१५ जना आशिंक प्राध्यापक रहेको क्याम्पसमा फागुन ११ गतेदेखि पेन डाउन गरेर आन्दोलन गर्दै आएको प्राध्यापकले फागुन १६ गते गतेदेखि क्याम्पसमा तालाबन्दी गर्दा क्याम्पसमा अध्यनरत विद्यार्थीको पठनपाठन प्रभावित भएको क्याम्पसमा अध्ययनरत प्रताप तामाङले बताउनुभयो । उहाँले भन्नुभयो ‘शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, गत फागुन ११ गतेबाट पढाई भएको छैन’, हामी क्याम्पस आउने जाने मात्र गरिरहेका छौँ ।’

तालाबन्दीपछि क्याम्पसमा अध्ययनरत करिब ३ सय ५० जना विद्यार्थीको पठनपाठन प्रभावित भएको क्याम्पस प्रशासनले जनाएको छ ।

आन्दोलनरत प्राध्यापकहरूले आफूहरूलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आन्दोलनरत प्राध्यापक पदम कार्कीले भन्नुभयो ‘हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौँ, क्याम्पसमा करारका पदहरू रिक्त छन्, तर पनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन, यसबाट हाम्रो वौद्धिक शोषण भईरहेको छ ।’ आंशिक प्राध्यापकहरूले राखेको मागको विषयमा माथिल्लो निकायसँग पहल भईरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसका निमित्त क्याम्पस प्रमुख निलमणि भट्टराईले ‘आंशिक प्राध्यापकहरू करारको माग राख्दै आन्दोलनमा हुनुहुन्छ, त्यसको विषयमा क्याम्पस प्रमुखले केन्द्रीय कार्यालयमा जानकारी गराउनु भएको छ, उहाँ अहिले पनि काठमाण्डौमा भएकोले वार्ता गरेर पठनपाठनको वातावरण बनाउने प्रयास छ ।’

त्यसैगरी धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आशिंक प्राध्यापकहरूले करार नियुक्तिको माग गर्दै चरणबद्ध आन्दोलन गर्दा फागुन ११ गतेदेखि पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दीमा कार्यरत १४ जना आंशिक प्राध्यापकहरूले नियुक्तिमा लैजान माग गर्दै आन्दोलन गरीरहेका छन् ।

तालाबन्दीपछि क्याम्पसमा अध्ययनरत ६ सय ५० जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । आन्दोलनरत प्राध्यापक दिनेश अधिकारीले दैनिक ज्यालादारीमा काम गरिरहेको क्याम्पसमा करार नियुक्तको माग गर्दा सुनुवाई नभएकोले आन्दोलन गर्नुपरेको बताउनु भयो । आंशिक प्राध्यापकहरूले राखेको मागको विषयमा पहल भइरहेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले बताउनु भयो ।

 

अन्य

भिडियो