कञ्चनरुप नगरपालिकाकी १७ वर्षीया बालिकाको अग्निसाइर कृष्णसवरण गाउँपालिकाका २५ वर्षीय युवक सँग फागुन १९ गते हुन लागेको बालविवाह कञ्चनरुप नगर बाल सञ्जाल र कञ्चनरुप नगरपालिकाको पहलमा रोकिएको छ ।

बालिकाको २०५९ पुस १० गते जन्म भएको जन्मदर्ता रेकर्डमा देखिएकोले विवाह रोक्नु परेको वडा नम्बर ६ की वडा सचिव एवं बालमैत्री सहजकर्ता मीरादेवी भट्टराईले बताउनु भयो । बालविवाह हुन लागेको खबर पाएपछि उक्त विवाह नगर बाल सञ्जाल र बालमैत्री स्थानिय शासनले रोकेको हो ।
बालमैत्री स्थानिय शासनका फोकल पर्सन राजेशकुमार यादव, बालमैत्री सहजकर्ता मीरा देवी भट्टराई, बालमैत्री सहजकर्ता जितेन्द्र साह, वडा सदस्यहरू र बाल सञ्जालका पदाधिकारीहरूले बालविवाहले निम्त्याउने समस्या र कानूनी प्रावधानका बारेमा बताए पछि बालिकाका बुबा र आमाले कानूनको उल्लङ्घन गरेर छोरीको विवाह नगर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।