१६ वर्ष २ महिना ८ दिनकी बालिकाको भारत बिहार मधुबनी लौकाहाका २८ वर्षीय सुमितकुमार सिंहसँग फागुन १९ गते हुन लागेको बालविवाह अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षक सञ्जाल, राजविराज नगर बालसञ्जाल, समग्र जनउत्थान केन्द्र र सञ्चारकर्मीहरूको सक्रियतामा रोकिएको छ ।

घरपरिवारकै सल्लाहमा कक्षा नौ मा अध्ययनरत बालिकाको विवाह हुन लागेको सूचना पाएको अधिकारकर्मीहरुले फागुन १९ गते दिउँसो प्रहरीका साथ विवाह घर पुगेर विवाह रोकेका हुन् ।
विवाह रोक्नका लागि विवाह घर पुगेका अधिकारकर्मी, बालअधिकारकर्मी र प्रहरीले बालविवाह गर्न नहुने भन्दै बालविवाहको नकारात्मक असर र कानूनी प्रावधानबारे बालिका र उनका अभिभावकलाई सम्झाएका थिए ।

विवाहका लागि सबै तयारी पूरा भएको र जागिरे युवक फेला परेकाले विवाह नरोक्ने अडान लिएपछि बालिका र उनकी आमालाई जिल्ला प्रहरी कार्यालय ल्याएर मनोविमर्श गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो । इन्स्पेक्टर कार्कीका अनुसार हाल बालिकालाई थप मनोविमर्श र संरक्षणका लागि सेवा केन्द्रको अल्पकालिन आश्रय केन्द्रमा राखिएको र केही दिन दैनिक हाजिरीमा राखिने छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा विवाह गर्नेको उमेर २० वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तो विवाह स्वतः बदर हुने र कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिबाना तोकिएको छ ।
