INSEC Online

📅 २०८३ जेष्ठ २१

तुइन तर्न १ सय रुपियाँ तिर्न बाध्य , पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन्

सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसके पनि हुम्लाका स्थानीयले तुइन तर्न १ सय रुपियाँ तिर्न बाध्य भएका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा स्थानीयदेखि जनप्रतिनिधिहरू वारपार गर्नलाई तुइन बाहेक अन्य कुनै विकल्प छैन ।

कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ । त्यो पनि निशुल्क होइन, तुइनबाट वारपार गर्नेहरूले सामान तारेबापत ५० रुपियाँ तिर्नुपर्छ भने प्रतिव्यक्ति १ सय रुपियाँ तिरेर वारपार गर्नु परेको स्थानीय मदनबहादुर शाहीले गुनासो गर्नु भएको हो ।

तुइन पुरानो र धराप छ, तुइनबाट वारपार गर्दा भगवानको नाम जप्छौं,’ स्थानीय काली विकले भन्नु भयो ‘पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन् ।’ कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन विकको भनाई छ ।

खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नै पर्छ । उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र काराङग लगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्ला जुम्ला र बाजुरा पुग्ने गरेका छन् ।

स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन् । अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन तर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गर्नु भयो । हिउँदमा पनि नदीको पानी घट्दैन, उनले भनिन् घुमाउरो बाटो हिँड्ने दुःखले रुपियाँ तिरेरै तुइन चढिरहेका छौं ।’ उनका अनुसार बोक्चेगौडामा मात्रै दैनिक ५० भन्दा बढी बटुवाले तुइनबाट वारपार गर्छन् । तुइन तर्दा यात्रुका औंला काटिने र चोट लाग्ने घटना सामान्य मानिने स्थानीयको गुनासो छ ।

तुइन हटाएर झोलुङ्गे पुल हाल्ने संघीय सरकारको निर्णय कार्यान्वयन नहुँदा स्थानीयले वर्षौंदेखि सास्ती व्यहोर्नु परेको स्थानीय अगुवा सोनाम लामाले बताउनु भयो । उहाँका अनुसार कर्णाली नदीमा अहिले पनि आधा दर्जन स्थानमा तुइन प्रयोगमा छ । पुल बनाउन पटकपटक तीनवटै तहका सरकारको ध्यानाकर्षण गराइएको हो,उहाँले भन्नु भयो, पुल बने सबैले वर्षौंदेखिको सास्तीबाट मुक्ति पाउँथ्यौं । तुइनले स्थानीयको आर्थिक व्ययभार बढ्नुका साथै ज्यान जोखिममा परिरहेको लामाको भनाई छ ।

कर्णाली करिडोर अन्तर्गतको खार्पु–सुनखाडा खण्डको बोक्चेगौडामा सडक निर्माणका क्रममा आवागमन अवरुद्ध भएपछि स्थानीयले रकम सङ्कलन गरी तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनु भयो । ‘त्यो बेला बाटो छेकिएपछि अस्थायी रूपमा तुइन निर्माण गरेका हौं,’ उहाँले भन्नु भयो, ‘तुइन मर्मत गर्नका लागि स्थानीय समितिमार्फत शुल्क उठाइएको हो ।’ पुल निर्माणका लागि संघीय सरकारमार्फत भर्खरै टेन्डर आह्वान भएकाले पुलको योजना अघि बढ्यो भने तुइन हटने खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलको भनाई छ ।

तुइनबाट दाउरा नओसारे चुलो बल्दैन
सर्केगाट गाउँपालिकाको रिपघाटस्थित नेर र खार्पुनाथको याङ्चुबगरबाट अन्यत्र आउजाउ गर्ने बटुवालाई पनि तुइन नतरी सुखै छैन । रिपघाट आसपासका रिप र उनापानीलगायत गाउँमा वनक्षेत्र छैन । त्यहाँका बासिन्दाले कर्णाली पारिको जङ्गलबाट ल्याउने दाउरा तुइनबाटै तार्छन् । एक भारी दाउरा तारेको २ सय रुपियाँ तिर्नुपर्दा महङ्गो भएको स्थानीय धनशोभा विकले गुनासो गर्नु भयो ।

नदीपारि सामुदायिक वन क्षेत्र रहेता पनि वारि बस्ती रहेको छ । ‘तुइनबाट दाउरा नओसारे चुलो बल्दैन,’ उहाँले भन्नु भयो, ‘दाउराको भन्दा बढी तुइनको शुल्क तिर्नुपरेको छ ।’ संघीय सरकारले दिने अनुदान न्यून रहेको र आन्तरिक स्रोतले सामथ्र्य नहुँदा गाउँपालिका आफैँले पुल बनाउन हिम्मत गर्न नसकेको अध्यक्ष रावलले गुनासो गर्नु भयो ।

अन्य

भिडियो