INSEC Online

📅 २०८३ जेष्ठ २१

ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव, सेवाग्राही मार्कामा

जीराभवानी गाउँपालिका–४ सुपौलीमा नागरिकलाई सेवा दिनका लागि खोलिएको ईलाका प्रशासन कार्यालय सुपौलीमा एक जना शाखा अधिकृत सहित चार जना कर्मचारीको दरबन्दी रहेको भएपनि कर्मचारी अभावका कारण सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन् ।
ईलाका प्रशासन कार्यालय सुपौलीमा २०७६ पुस महिनादेखि शाखा अधिकृत छैनन् । शाखा अधिकृत नहुँदा नागरिकता लिने लगायत अन्य सबै सेवालिन जाने सेवाग्राहीहरू रित्तो हात फर्कन बाध्य भएका छन् ।

ईलाका प्रशासन कार्यालय सुपौलीमा कार्यालय सहायक निरञ्जन चौधरी, कम्प्युटर अपरेटर सिन्धु चौधरी, लेखापाल रवि चौधरी र प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको दरबन्दी रहेकोमा कार्यालय सहयोगी र कम्प्युटर अपरेटर मात्र नियमित कार्यलय आउने गरेका छन् । शाखा अधिकृत विनय श्रीवास्तवको सरुवा भएको छ । सरुवा भएर आउनु पर्ने अधिकृत हालसम्म आउनु भएको छैन । एक महिनाभन्दा बढी समयदेखि अन्य दुई जना कर्मचारी अनुपस्थित छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले फागुन महिनादेखि हरेक बिहीबार एक जना शाखा अधिकृत ईलाका प्रशासन कार्यालय सुपौलीमा पठाउने गरेको छ । साप्ताहिक रुपमा एक जना शाखा अधिकृतले दिने सेवाले त्यस क्षेत्रका नागरिकलाई सास्ती मात्र भएको छ ।

जीराभवानी गाउँपालिका–१ शान्तिनगर बस्ने शान्तिकुमारी श्रेष्ठ विगत डेढ महीनादेखि ईलाका प्रशासन कार्यालय धाइरहेको बताउनु भयो । उहाँले सात पटक कार्यालयमा गएको तर सातै पटक अधिकृत नभएको कारण नागरिकता बनाउन नसकेको बताउनु भयो । कुनै बेला गाउँमैं ईलाका प्रशासन कार्यालय खुलेको कारण खुशी भएका गाउँलेहरू अहिले पीडाबोध गरिरहेको उहाँको भनाई छ ।

पटेर्वासुगौली, जगरनाथपुर, जीराभवानी र ठोरी गाउँपालिकाका करिब १ लाख नागरिकलाई  सेवा प्रवाह गर्ने उद्देश्यले ईलाका प्रशासन कार्यालय सुपौलीको स्थापना गरिएको हो ।

पटेर्वासुगौली गाउँपालिका–३ सोनबर्सा निवासी स्थानीय मुन्ना तिवारीले दैनिक २५–३० जना सेवाग्राहीहरु कर्मचारी नहुँदा सेवा नपाई फर्किने गरेको बताउनु भयो । उहाँले एक महिनादेखि चार कर्मचारीमध्ये दुई जना नआएको जानकारी दिनु भयो ।

ईलाका प्रशासन कार्यालय सुपौलीमा कार्यरत कर्मचारीलाई जिल्ला प्रशासन कार्यालय पर्सामा कर्मचारी अपुग भएको भन्दै झिकाइएको कारण सेवाग्राहीहरु सेवा लिनबाट बञ्चित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिष्णुप्रसाद कार्की प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएपछि मात्र फागुनदेखि साप्ताहिक रुपमा ईलाका प्रशासन कार्यालय सुपौलीमा सेवा दिन थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी कार्कीले ईलाका प्रशासन कार्यालय सुपौलीमा कर्मचारी पठाउन मन्त्रालयसँग माग गरेको बताउँदै केही दिनमा कर्मचारी आउने र त्यहाँको सेवा प्रभावकारी हुने बताउनु भयो ।

अन्य

भिडियो