INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ सय ९८ जना पीडित

सन् २०१९ मा सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ सय ९८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा फागुन ७ गते धनगढीमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० र सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था विषयक पत्रकार भेटघाट कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका संयोजक खडकराज जोशीले सन २०१९ मा मानव अधिकार उल्लङ्घनका घटनामा  १५ जना महिला र ८७ जना पुरुष गरी १ सय २ जना तथा ज्यादतीका घटनामा  ६ सय २३ जना महिला र ७३ जना पुरुष गरी ६ सय ९६ जना पीडित भएको तथ्याङ्क पत्रकार भेटघाट कार्यक्रममा प्रस्तृत गर्नु भएको थियो  ।

सन् २०१८ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ सय ६४ जना पीडित भएका थिए । त्यसमध्ये मानव अधिकार उल्लङ्घनका घटनामा सात जना महिला र ३७ जना पुरुष सहित ४४ जना पीडित भएका थिए भने ज्यादतीका घटनामा ४ सय ७७ महिला र  ४३ जना पुरुष सहित ५ सय २० जना पीडित भएका थिए ।

सुदूरपश्चिम प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  सन् २०१९ मा बाल अधिकारका घटनामा १ सय १ जना बालिका र ६ जना बालक र महिलामाथि भएका हिंसाका घटनामा ५ सय जना पीडित भएका छन् ।

बाल अधिकारका घटनामा बेचबिखनबाट ६ जना, विद्यालयमा शारीरिक दण्ड सजायबाट तीन जना, बलात्कार घटनामा ५३ जना र यौन दुव्र्यवहारका घटनामा ४३ जना पीडित भएका छन्  महिला अधिकारका घटनामा बेचबिखन प्रयासबाट पाँच जना, घरेलु हिंसाबाट ४ सय ५ जना , कथित बोक्सीको आरोपमा एक जना , बहुविवाहबाट ११ जना , बलात्कारका घटनामा ५२ जना , बलात्कार प्रयासका घटनामा १२ जना र  यौन दुव्र्यवहारका घटनामा ६ जना महिला पीडित भएका छन्  ।

सन् २०१९ मा जातिय विभेदका घटनामा  पाँच जना महिला र एक जना पुरुष गरी ६ जना पीडित भएको इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालयले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका प्रमुख झंकरबहादुर रावलले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक र यसले समेटेका तथ्य तथ्याङ्कहरूलाई पत्रकारहरुले व्यापक रूपमा सम्प्रेषण गरी राज्यको ध्यायनकर्षण गर्न आवश्यक भएको बताउनु भयो ।

एफएमडीसिका निर्देशक उमिद बागचन्दले आगामी दिनमा प्रकाशन हुने  नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकारको कार्यन्वयनको अवस्थाका बारेमा उल्लेख गर्न आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा डडेल्धुरा इन्सेक जिल्ला प्रतिनिधि भूपेन्द्र बिष्टलाई उत्कृष्ट जिल्ला प्रतिनिधि पुरस्कारबाट सम्मान गरिएको थियो  ।

photo20200219kailali (1) photo20200219kailali (2) photo20200219kailali (3) photo20200219kailali (4) photo20200219kailali (5) photo20200219kailali (6)

अन्य

भिडियो