दादुरा–रूबेला खोप अभियानको अनुगमनमा गएको अवस्थामा आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको स्वास्थ्यकर्मी ४८ वर्षीय सत्येन्द्रप्रसाद यादवले आरोप लगाउनु भएको छ ।
सिदिङ्गवा स्वास्थ्य चौकीबाट खोप अभियानको अनुगमनमा गाँउपालिका अध्यक्ष नरबहादुर कडरियासँग गएको अवस्थामा फागुन ५ गते गाँउपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य ३७ वर्षीय प्रकाश राई(कैलाश)ले कुटपिट गरेको पीडितको आरोप छ ।
पीडितका अनुसार वडा–३ मा सञ्चालित खोप अभियानको अनुगमन गरी फर्किरहेको अवस्थामा आरोपितले स्वास्थ्यकर्मीको नियुक्ति र सरूवाको विषयलाई लिएर कुटपिट गरेको पीडितको आरोप छ ।
आरोपित राईले अनुगमन गरी फर्किएको अवस्थामा एउटै गाडीमा फर्किएको र बाटोमा केही विषयमा विवाद र भनाभन भएपनि कुटपिट नगरेको बताउनुभयो ।
गाँउपालिका अध्यक्ष नरबहादुर कडरियाले दुवै पक्षलाई राखी छलफल गरी समस्याको समाधान गरिने बताउनुभयो ।
कर्मचारीमाथि हातपात भएको र सुरक्षा चुनौती थपिएकाले काम गर्ने वातावरण तयार गर्न माग गर्दै गाँउपालिकाको सबै काम ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताउनु भयो ।
गाँउपालिका अध्यक्ष नरबहादुर कडरियाले कोही कसैको विवादमा सेवाग्राहीले सेवाबाट वञ्चित हुनु पर्ने अवस्था नरहेको बताउनुभयो ।