INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाट पुन : गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सुनसरी जिल्ला अदालत परिसरबाट फागुन ५ गते पाँच जनालाई गिरफ्तार गरेको छ ।

प्रहरीले ठेगाना नखुलेका प्रज्वल भनिने ४५ वर्षीय माइला लामा, ४० वर्षीय रमेश कार्की, दिपेश भनिने ३७ वर्षीय दिवेश राई, हितेश भनिने ४३ वर्षीय नविनकुमार विश्वकर्मा र ढुकुटी भनिने ४० वर्षीय घिरेन्द्र उपाध्यायलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताउनुभयो ।

प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा काठमाण्डौँ प्रहरीले स्थानान्तरण गरी जिल्ला अदालत सुनसरीमा आरोपित पाँच जना विरूद्ध थुनछेक बहसका लागि फागुन ५ गते पेश गरेको थियो ।

प्रहरीले राज्य विरूद्धको कसुर, हातहतियार तथा खरखजाना र सङ्गठित अपराध निवारण ऐन अन्तरगतको कसुरमा जिल्ला अदालत सुनसरीमा थुनछेक बहसका लागि पेश गरेकोमा अदालतले सादा तारेखमा रिहा गर्ने आदेश दिएपछि अदालतबाट निस्कने क्रममा सुनसरी प्रहरीले गिरफ्तार गरेको हो ।

न्यायधीश ध्रुवकुमार उप्रेतीको इजलासले सादा तारेखमा रिहा गर्ने आदेश दिएपछि जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६९ बमोजिम सादा तारेखमा छाड्ने आदेश दिएपनि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी शर्माले बताउनुभयो ।
आरोपित पाँचै जनालाई प्रहरीले माघ २४ गते काठमाण्डौँँबाट गिरफ्तार गरेको थियो ।

काठमाण्डौँ जिल्ला अदालतको माघ २७ को आदेशमा आरोपित साधारण तारेखमा रिहा भए लगत्तै अदालत परिसरबाट पुन : गिरफ्तारीमा परेका थिए ।

आरोपितमाथि ०७६ भदौ २१ र २९ गते इटहरी क्षेत्रमा रहेको एउटा निजी विद्यालय र बजारमा चन्दा आतङ्क मच्चाएको मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी विनोद शर्माले बताउनुभयो ।

काठमाण्डौँ प्रहरीले फागुन ४ गते सुनसरी प्रहरीलाई बुझाएपछि गिरफ्तारीमा परेकाहरूको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको डिएसपी शर्माले बताउनुभयो ।

अन्य

भिडियो