रसुवाको मुलखर्क सडक स्तरोन्नतीमा अनियमितता सवाल उठेपछि ०७६ फागुन ३ गते नागरिक अनुगमन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासमा नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रियामा सडक विभागले गरेको काममा गुणस्तरहिन सामग्री प्रयोग भएकोले त्यसको नागरिक अनुगमन हुनुपर्ने विषय उठेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, गैसस महासंघ जिल्ला सचिव प्रमोदकुमार तितुङ, रसुवा चेम्बर अफ कमर्स अध्यक्ष संजीव अमात्य, नेपाल पत्रकार महसंघका हिमनाथ देवकोटा, प्राविधिक सहितको टोलीले मुलखर्क पहिरो क्षेत्र सडक ढलान भइरहेको स्थानमा स्थलगत अनुगमन गरेको हो । लागत इष्टिमेट अनुसार समयमै गुणस्तरीय सडक ढलान गर्न र सडक आवतजावत सुचारु गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरिएको छ ।
सडक विभागबाट ढलान २ सय २० मिटर, वाल तथा पिच मर्मत समेत कुल १ करोड १३ लाख रुपियाँको काम गर्ने जिम्मा पाएको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रसन प्रालि प्रोपाइटर सुवासकुमार कार्कीले बताउनु भयो । ढलान मोटाइ २५ सेमी आरसीसी र ५ सेमी पीसिसि रहेको छ । ढलानको मोटाई पनि कम राखेको स–साना रडको प्रयोग गरेको , चिसोमा ठाउँमा तापक्रम व्यवस्थापन नगरेको र गुणस्तरिय सिमेन्ट प्रयोग नभएको गुनासो आएको थियो ।
नेपाल चीन व्यापारका लागि एकमात्र रसुवागढी नाकाबाट आयात निर्यात हुने सो सडक ढलान गर्न थालेपछि दिनहुँ गाडी फस्नाले घण्टौसम्म जाम पर्ने र यात्रु मर्कामा पर्ने गरेका छन् ।
प्रमुख जिल्ला अधिकार अर्जुन भण्डारीले बिकल्पको रुपमा मालबाहक ट्रक तथा कन्टेनरहरु बेत्रावती मैलुङ्ग स्याफ्रु सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाउन पहल पर्ने बताउनु भयो । सडक विभागबाट योजनाको लागत इष्टिमेट मागेर छलफल गर्ने प्रमुख जिल्ला अधिकारीले प्रतिवद्धता जनाउनु भयो ।