नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी व्युरो सदस्य धनुषा जिल्ला धनुषाधाम नपा–६ सरस्वतीपुरका ३४ वर्षीय साहस भनिने इन्दल साहलाई इलाका प्रहरी कार्यलय कडरवोनाबाट खटिएको प्रहरीले सप्तरीको सुरुङ्गा नपा–६ बाट माघ २९ गते गिरफ्तार गरेको छ ।

हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, धम्की, चन्दा सङ्कलन, सङ्गठित अपराधलगायतको घटनामा प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरी आएको बेला गिरफ्तार गरिएको एसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नपा–५ स्थित महेन्द्रनगरमा मङ्सिर २७ गते राति भएको बम बिष्फोटलगायतको घटनाको मूख्य योजनाकारका रूपमा साह प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका आरोपित हुन् । क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगरस्थित राजेश साहको घरमा ०७६ मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहाल, घरधनी ४८ वर्षीय राजेश साह र निजको छोरा १६ वर्षीय आनन्दकुमार साहको मृत्यु भएको थियो । बम विस्फोटमै परेर ७० वर्षीय राजेशका बुवा भिखारी साह, राजेशका छोरा १९ वर्षीय प्रकाश साह, राजेशकी छोरी १७ वर्षीया अञ्जली साह, छिमेकीहरु अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतो घाइते हुनुभएको थियो ।
घटनापछि मुख्य योजनाकार मानिएका विप्लव समुहका केन्द्रीय सदस्य नेता आदम राइनलाई धनुषा प्रहरीले पुस १६ गते गिरफ्तार गरेपछि साह सप्तरीमा खटिएका थिए । सप्तरीमा चन्दा सङ्कलनमा खटिएको जानकारी पाएको सप्तरी प्रहरीले साहलाई सुक्ष्म निगरानीमा राखेको थियो । इलाका प्रहरी कार्यालय कडरवोनाले साहलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषा बुझाएको इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।