INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा पठन पाठन प्रभावित

बगनासकाली गाउँपालिका–४ खानीछापस्थित हिमालय आधारभुत विद्यालय भवनमा  वडा कार्यालय सञ्चालन गरिएको छ । विद्यालय भवनमा वडा कार्यालय सञ्चालन हुँदा विद्यार्थीहरूको पठन पाठन प्रभावित बनेको छ ।

यसअघि विद्यालय नजिकै रहेको सानो भवनमा वडा कार्यालय सञ्चालन गरिएपनि उक्त भवनमा प्रसूति कक्ष सञ्चालन गरिएपछि वडाको काम विद्यालय भवनको एउटा कोठाबाट सञ्चालन हुँदै आएको वडा सचिव कुलप्रसाद ढुंगानाले बताउनु भयो ।

एउटै कोठामा वडा कार्यालयसँगै कृषि, पशु, हुलाक कार्यालय पनि रहेका छन् । त्यही कोठामा भान्सा पनि  रहेको छ । एकातिर सानो कोठाबाट सबै शाखाका कार्य सम्पादन गर्न समस्या भएको र विद्यालय प्राङ्गणकै कोठामा कार्यालय रहेकोले सेवा ग्राही आउने जाने, कहिले काँहि छलफल बहस गर्नुपर्दा विद्यार्थीहरुको पढाई प्रभावित हुने गरेको ढुंगानाले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद अर्यालले अन्य विकल्प नभएका कारण विद्यालयको कोठा वडा कार्यालयकालागि निशुल्क उपलब्ध गराइएको बताउनु भयो । सेवाग्राही आउने जाने क्रममा पढ्दै गरेका बालबालिकाहरूको ध्यान पढाईमा भन्दा बाहिर जाने गरेको उहाँले बताउनु भयो ।

वडा अध्यक्ष हुतमानसिंह दर्लामीले वडा कार्यालयका कारण बालबालिकाहरुको पढाई प्रभावित भएको गुनासो आएकै कारण वडा कार्यालय निर्माणको कामलाई अगाडि बढाइएको बताउनु भयो । वडा कार्यालय निर्माण हुने वित्तिकै नयाँ भवनमा सारिने उहाँले बताउनु भयो ।

 

अन्य

भिडियो