INSEC Online

📅 २०८३ जेष्ठ २१

बालसुधार गृहमा क्षमताभन्दा दुईगुणा बढी बालबालिका

भक्तपुरको सानोठिमीमा नेपाल सरकारको सहयोगमा युसेफ नेपाल नामक गैरसरकारी संस्थाद्धारा ०५८ सालदेखि सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा दुईगुणा बढी बालबालिका राखिएको छ ।

‘ग’ श्रेणीको यो बालसुधार गृहमा क्षमताभन्दा १ सय ५६ जना बढी बालबालिकाहरू राखिएको बाल सुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिनुभयो ।

Bal Sudar Greha

बाल सुधार गृहमा १ सय १० जनाको क्षमता रहेकोमा हाल कैद भुक्तान तथा थुनुवा गरि २ सय ६६ बालबालिका छन् । अहिले बाल सुधार गुहमा २ सय ३१ जना बालक र ३१ जना बालिका रहेका छन् ।

बागमती प्रदेशका १३ जिल्लाका बालबालिका राख्ने भनिए पनि हाल यहाँ ४४ जिल्लासम्मका बालबालिका रहेका छन् । बसाँइसराईका कारण उपत्यकामा बिभिन्न जिल्लाबाट आउनेहरू बढी भएको र उपत्यकामै अपराध भएपनि बाहिर जिल्लाका बालबालिकाको संलग्न बढी रहेकाले बागमती प्रदेशभन्दा बाहिर जिल्लाका बालबालिका पनि यही सुधार गृहमा बढी रहेको उपनिर्देशक सुवालले बताउनु भयो । सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट, काभ्रेका बालबालिका बढी रहेका उपनिर्देशक सुवालले बताउनु भयो ।

बाल सुधार गृहमा रहेकामध्ये ६० जनाभन्दा बढी जबरजस्ती करणी मुद्दामा संलग्न रहेका, करिब २५ जना देहव्यापार मुद्दामा र बाँकी कर्तव्य ज्यान, पाकेटमारा, लागूऔषध ओसारपसार, चोरी डकैटीमा संलग्न रहेको मुद्दामा रहेको सुवालले जानकारी दिनुभयो । यहाँ कम्तीमा १२ वर्ष उमेरसम्मका बालबालिका रहेका छन् । सुधार गृहमा रहेका बालबालिकालाई अभिभावकसंग प्रत्येक सातामा एक पटक अभिभावकले ३ देखि ६ बजेभित्र भेट्नसक्ने गरि व्यबस्था गरिएको छ ।

बालसुधार गृहमा शिक्षाको राम्रो व्यवस्था रहेको र एसईई परीक्षा दिएकाहरूका लागि पुस्तकालयको समेत व्यबस्था गरेको छ । कक्षा १२ सम्म अध्ययन गर्नका लागि कक्षा कोठा भवन निर्माण भईरहेको छ ।

कक्षा ५ देखि १० सम्मका बालबालिकाका लागि सुधार गृह भित्रै विद्यालय संचालनमा रहेको बाल सुधार गृह सानोठिमीका कार्यक्रम अधिकृत बाल अधिकार संयोजक सन्तुलन देशेमरुले जानकारी दिनुभयो । यसवर्षदेखि कक्षा १२ सम्म सञ्चालनको लागि अनुमति लिईसकेकाले सुधार गृह भित्र रहेका बालवालिकालाई अब कक्षा १२ सम्म अध्ययन गर्नको लागि सहज हुने छ । यसका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

क्षमताभन्दा बढी बालबालिकाहरू राख्दा मेस, सुत्ने कोठा, शौचालय प्रयोगमा समस्या हुने गरेको देशेमरुले बताउनु भयो । युसेफ नेपाल नामक गैरसरकारी संस्थाद्धारा सानोठिमी, कास्की, नेपालगञ्ज र विराटनगरमा गरि चार ठाउँमा संचालनमा रहेको बाल सुधार गृहमा करिब ९ सय बालबालिका रहेका छन् ।  सानोठिमी र विराटनगरमा पनि क्षमताभन्दाबढी बालबालिकाहरू राखिएको उहाँले बताउनु भयो । बालगृह सञ्चालनको लागि गृहमन्त्रालयले खाना दिने र चारठाउँका लागि सरकारले वार्षिक करिब ८५ लाख बजेट पठाउने गरेको छ ।

अन्य

भिडियो