त्रियुगा नगरपालिका – ९ चौकीबारीकी २८ वर्षीया गोमा भनिने शारदा चौधरी र ६ वर्षीया छोरी रचना चौधरीको हत्या गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका – ३ मोतीगडाका ४० वर्षीय रामहरी शाहलाई माघ ७ गते जन्म कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश दीपक खनालको इजलासले आरोपितले हत्या गरेको कसुर ठहर गर्दै कैद सजायसँगै पीडित परिवारले पाउने गरी कसुरदारबाट एक लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
जिल्ला सिरहा लहान नगरपालिका–८ स्थायी घर भई उदयपुरको मोतीगढामा बस्दै आएका रामहरी शाहले २८ वर्षीया शारदा चौधरीलाई बिवाह प्रस्ताव राखेका थिए । सो प्रस्ताव नमानेको भन्दै ०७६ असोज २४ गते धारिलो हत्यार प्रहार गरी आमाछोरीको हत्या गरेको आरोपितले स्वीकार गरेपछि अदालतले सजाय सुनाएको श्रेस्तेदार राजकुमार आर्चायले बताउनुभयो ।
प्रहरीले आरोपितलाई असोज २५ गते मोतीगढाबाट गिरफ्तार गरी अनुसन्धान पश्चात कारबाही अघि बढाएको थियो ।
शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) मा असोज २६ गते गरिएको थियो ।