पचालझरना गाउँपालिका–७ की २३ वर्षीया सर्मिला दर्जीलाई उनका २८ वर्षीय पति खाम्मा दमाईले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले पतिविरूद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् ।
पीडित महिलालाई आरोपितले माघ १८ गते राति कुटपिट गर्नुका साथै घर निकाला गरेको पीडितको आरोप रहेको छ ।
आरोपितले माघ ३ गते २० वर्षीया सुशीला मगरसँग बहुविवाह गरेपछि तीन वर्षीय छोरा सहित घरनिकाला गरेको पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्सपेक्टर इन्द्रबहादुर मल्लले बताउनुभयो ।
पीडितको निवेदन आएपछि ओरोपितलाई गिरफ्तार गर्न टोली खटाइएको कालिकोटका प्रहरी इन्स्पेक्टर मल्लले बताउनु भयो ।
पतिको कुटपिटबाट घाइते भएकी पीडितको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ । पीडितको उजुरीपछि फरार आरोपितको खोजी जारी रहेको र गिरफ्तार पश्चात् घटनामाथि आवश्यक कारवाही गरिने जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ ।
