लगातार परेको भारी हिमपातका कारण हिमाली जिल्ला हुम्लामा दुई महिनादेखि विमानस्थल अवरुद्व हुँदा जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ ।
जिल्लाको एक मात्र विमानस्थल दुई महिनादेखि अवरुद्व भएपछि जिल्ला अस्पतालबाट अन्यत्र रिफर भएका विरामीहरू थप उपचारका लागि जिल्ला बाहिर जान सकेका छैनन ।
मङ्सिर महिनाको अन्तिम हप्तादेखि हालसम्म लगातार परेको हिमपातका कारण बाजुराबाट जोडिने मुने लेख र गमगडीदेखि आउने चंखेली लेख दुई महिनादेखि अवरुद्व हुँदा मुगु र बाजुरा जिल्लाबाट खच्चडमा पैदल मार्ग हुँदै सदरमुकाम सिमकोटमा ल्याइने सामान माघ १८ गतेसम्म आइपुगेको छैन ।
बाक्लो हिमपातले सदरमुकाम सिमकोटस्थित विमानस्थलमा बाग्लो हिउँ जम्दा उपभोक्ता मर्कामा परेका हुन ।
जिल्लाका स्थानीय बजार सर्केगाड र सदरमुकामस्थित सिमकोट बजारमा चामल, तेल, मसला, नुन, कुखुराको मासु, अण्डा, सागपात र पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य तथा निमार्ण सामाग्रीको अभाव भएको व्यापारी सूर्य रावतले बताउनु भयो ।
विमानस्थलमा जमेको हिउँ नपन्छाउँदा यहाँका सर्वसाधरणले सास्ती भोग्नु परेको उद्योग वाणिज्य सङ्घ हुम्लाका अध्यक्ष नाम्ज्ञाल तामाङले गुनासो गर्नु भयो ।
दुई महिनादेखि हिमपातले बन्द भएका घोरेटा बाटामा यतिखेर मानिसहरू समेत आवत जावत गर्न पाएका छैनन् । जिल्लामा एक मात्र हवाई सञ्चालन हुने भए पनि भारी हिमपातले विमानस्थल बन्द हुँदा यतिखेर विरामीलाई समेत समस्या भएको छ ।
जटिल खालका विरामीलाई रिफर गरेपनि जिल्ला बाहिर जानलाई केही उपाय नभएपछि यहाँका बिरामी घरमा रोग पालेर बस्न बाध्यतामा छन् । भारी हिमपातले व्यापारीलाई व्यवसाय गर्न समस्या हुने गरेको छ । उपभोक्ताले खोजेको सामान बजारमा पाइदैन ।
हुम्लामा पछिल्लो समय मौसमी फ्लुका कारण १४ जनाको मृत्यु भएको छ । त्यस्तै हिमपातले नाम्खा गाउँपालिकाका विरामीलाई सदरमुकाम सिमकोटसम्म ल्याउन पनि समस्या भएको नाम्खा गाउँपालिका–३ का वडाध्यक्ष प्रेम लामाले गुनासो गर्नु भयो ।
उहाँका अनुसार नाम्खा गाउँपालिकामा मौसमी रुघाखोकीले थुप्रै स्थानीयबासी विरामी परेका छन् । विरामीलाई जिल्ला बाहिर लैजाने कुरै नगरौ सदरमुकामसम्म पनि पु¥याउने उपाय नभएपछि स्थानीयबासी मर्कामा परेको अध्यक्ष लामाको गुनासो छ ।