इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले माघ १० गते राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिब दुई वर्षसम्म विज्ञ सल्लाहकारका रूपमा क्रियाशील प्याकुरेलले एक राजिनामापछि एक प्रेस विज्ञप्तिसमेत जारी गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ-‘ विज्ञ सल्लाहकारका हैसियतबाट आफ्ना अनुभव, योग्यता र क्षमताले भ्याएसम्म सदैव देश र जनतालाई हृदयंगम गर्दै इमान्दारीपूर्वक योगदान गरेको विदितै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजवूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु ।’
सामजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि समर्पित व्यक्तिका हैसियतमा आफ्नो मूल कर्तव्यप्रति सधैँ निष्ठावान रहने प्याकुरेलले बताउनुभएको छ । उहाँ मानव अधिकार तथा राजनीतिक विज्ञका रूपमा क्रियाशील हुनुहुन्थ्यो ।
‘यसैक्रममा सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको बिज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको हुँ ।’-विज्ञप्तिमा उल्लेख छ ।
