INSEC Online

📅 २०८३ जेष्ठ २१

उमेर नपुगेका बालबालिकाको विवाह कार्ड नछाप्ने छापाखानाहरूको प्रतिवद्धता

बालविवाह न्यूनीकरणका लागि प्रहरीले संचालन गरेको अभियानमा सहकार्य गर्दै जिल्लाका सात छापाखानाहरूले उमेर नपुगेका बालबालिकाहरूको विवाह कार्ड नछाप्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्लाका सबै छापाखानाहरूले माघ ३ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा पत्रकार सम्मेलन गरी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।
बालविवाह रोकथाममा सक्रिय रहेको सल्यान प्रहरीले अभियानमा साथ दिन सम्वन्धित सबैपक्षसँग आग्रह गर्दै आएको थियो ।
प्रहरीले जिल्लामा बालविवाह न्यूनीकरणमा तपाईहरूको पनि साथ र सहयोग आवश्यक छ भनेपछि हामीपनि सहयोग गर्ने मनसायले अघि बढेका हौँ, खलंगामा गिता अफसेट प्रेस संचालन गरिरहेका प्रकाश थापाले भन्नुभयो, ‘उमेर नपुगेका वरवधुको विवाह कार्ड छाप्नु पनि बालविवाहलाई प्रोत्साहन गरेको देखिने हुँदा हामी कार्ड नछाप्न सहमत भएका हौँ ।’
समुदाय प्रहरी साझेदारी अन्तरगत जिल्ला प्रहरी कार्यालय सल्यानले एक वर्षको अवधिमा विवाह मण्डपमै पुगेर ६ ओटा बालविवाह रोकेको छ भने पण्डितहरूलाई समेत बालविवाह गर्नेको साइत नहेर्न र विवाह नगराउन सचेत गराउदै तालिम समेत दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।
यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा छ उहाँले भन्नुभयो, ‘छापाखाना, पण्डित, अभिभावक बालवालिका सबैलाई सचेत गराएका छौँ र नतिजा पनि देखिएको छ ।’
कार्ड छाप्न जन्मदर्ता अनिवार्य
छापाखाना संचालकहरूले बालविवाह न्यूनीकरणमा सहयोग गर्न जन्मदर्ता हेरेर मात्रै विवाह कार्ड छाप्ने भएका छन् । कार्ड छाप्दा वर र वधुको जन्मदर्ता पनि सुरक्षित राख्ने छौँ, ‘एसके छापाखानाका संचालक शिखर केसीले भने जन्मदर्ता हेर्दा वरवधु मध्ये दुवैको उमेर २० वर्ष पुग्छ भने मात्रै कार्ड छाप्छौँ ।’
प्रतिवद्घता जनाउनेमा सल्यान जिल्लामा सञ्चालित सात वटै छापाखाना छन् । जिल्लामा खलङ्गा, सितलपाटी, सल्लीबजार र बागचौरमा सञ्चालन भएका छापाखानाहरूले प्रतिवद्धता जनाएका हुन् ।

अन्य

भिडियो