INSEC Online

📅 २०८३ जेष्ठ २१

सन् २०१९ मा ३१ बालिका बलात्कार घटनामा पीडित

सप्तरीमा सन् २०१९ को एक वर्षको अवधिमा बालिका बलात्कारको ३१ ओटा घटनामा ३१ जना बालिका पीडित भएको उजुरी दर्ता भएको सप्तरी प्रहरीले जनाएको छ ।

गत वर्षको जनवरीदेखि डिसेम्बरको अवधिमा जिल्ला प्रहरी कार्यालयमा १४, इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नौं, इलाका प्रहरी कार्यालय कल्याणपुर र कडरबोनामा चारचार ओटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाइले जानकारी दिनु भयो । एसपी  प्रसाइका अनुसार गत वर्ष साढे तीन र पाँच वर्षीयादेखि १४ वर्षीया सुस्त मनस्थितीकी बालिका र १८ वर्षीया दृष्टिविहीन बालिका पीडित भएकी थिइन् ।

१० वर्ष आठ महिनादेखि ४५ वर्ष उमेर समूहका आरोपितहरूको सङ्ख्या भने ५१ रह्यो । जसमध्ये १६ जना आरोपित १८ वर्ष मुनी उमेर समूहका छन् । आरोपितमध्ये १० जना पुर्पक्षका लागि कारागारमा थुनामा र चार जना बालसुधार गृहमा छन् । पाँच जना बालक संरक्षकको जिम्मामा, एक जना धरौटीमा रिहा भएका छन्, १५ जना फरार छन्, १३ जनाविरुद्ध वारेण्ट जारी भएको छ, एक जना जमानतमा र दुई जना वर्षको अन्तिम महिना गिरफ्तार भएका छन् ।

सन् २०१८ को अवधिमा एक बालिकाको बलात्कारपछि हत्या हुनुका साथै अन्य ३६ घटनामा दुई वर्षीया, तीन वर्षीया र सुस्त मनस्थितीकी १५ वर्षीया एक बालिकासमेत गरी ३७ जना पीडित भएको घटना इन्सेकमा अभिलेखित छ । यसैगरी सन् २०१७ को अवधिमा बलात्कार घटनामा आठ र सन् २०१६ को अवधिमा बलात्कार घटनामा १८ बालिका पीडित भएको अभिलेख छ ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा सप्तरीमा बाल यौन दुव्र्यवहारका सात ओटा उजुरी दर्ता भएको सप्तरी प्रहरीको तथ्याङ्कले जनाएको छ । पीडित बालिका आठ वर्षसम्मका सात जना रहे भने आरोपितमा १४ वर्षदेखि ५७ वर्ष उमेर समूहका १२ जना रहे ।

आरोपितमध्ये एक जना पुर्पक्षका लागि कारागारमा थुनामा छन्, एक आरोपित फरार छन् भने एक आरोपितविरुद्ध वारेण्ट जारी भएको छ । यस्तै आरोपितमध्ये आठ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने एक जना संरक्षकको जिम्मामा रिहा भए ।

सन् २०१८ मा यौन दुव्र्यवहारबाट १५ बालिका पीडित भएको इन्सेकले अभिलेख गरेको थियो । यस्तै सन् २०१७ को अवधिमा आठ जना बालिका र सन् २०१६ को अवधिमा नौं जना बालिका यौन दुव्र्यवहार घटनामा पीडित भएको अभिलेखित छ ।

छिमेकीहरूबाट सुस्त मनस्थिती र दृष्टिविहीनसहित ससाना अबोध बालिका बलात्कृत हुने घटनामा गत वर्ष पनि कमी आएन । प्रतिवाद र प्रतिरक्षा गर्न नसक्ने भएकाले पीडकहरूले अपाङ्गता भएका र अबोध बालिकाहरूलाई प्रलोभन, डर र त्रासमा पारेर यौन दुव्र्यवहार तथा बलात्कार गर्ने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनीता देवकोटाले बताउनु भयो ।

अन्य

भिडियो