बाल विवाहका कारण आमा र शिशुको स्वास्थ्य जोखिममा रहेको छ । जिल्लाको ग्रामीण क्षेत्रहरूमा प्रत्येक वर्ष उमेर नपुगेका बुबा आमाबाट जन्मिएका १२ देखि १५ जना नवजात शिशुको मृत्यु हुने गरेको जिल्ला अस्पताले जनाएको छ ।
जिल्ला अस्पतालका डाक्टर पुष्प ज्ञवालीका अनुसार बाल विवाह गरेका आमा बुबाबाट जन्मने बच्चा तन्दुरुन्त नहुने र शिशुको मृत्यु हुने पाइएको छ ।
जिल्लाकै बिकट गाउँका रुपमा रहेका पुर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र निस्दी गाउँ पालिकामा उक्त समस्या रहेको छ । जिल्ला प्रहरी कार्यालयमा बाल विवाहको कुनै उजुरी नपरेको सई मोतीबहादुर खड्काले बताउनु भयो ।
नेपालको कानुन अनुसार विवाह गर्न २० वर्ष उमेर पुगेको हुनु पर्छ । पुर्वखोला गाउँपालिकाका स्वास्थ्य चौकीका प्रमुख अमृतमान श्रेष्ठका अनुसार ग्रामीण भेगमा चेतनाकै कमीका कारण २० वर्ष नपुग्दै विवाह गर्नेहरू अझै पनि २५ प्रतिशत भन्दा बढी रहेका छन् । विशेषगरी दलित र जनजातीको बस्ती रहेका समुदायमा कलिलो उमेरमै विवाह गर्ने गरेको पाइएको श्रेष्ठले बताउनु भयो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम उमेरका आमा बुबाबाट जन्मने बच्चा शरीरिक र मानसिक रुपमा अशक्त हुनुको साथै आमा र बच्चाको स्वास्थ्य जोखिममा रहन्छ ।
२० वर्ष नपुग्दै बिवाह गरेकी पूर्वखोला गापा–४ देबीनगरकी २२ वर्षीया रिता थापाले आफूले उमेर नपुग्दै बिवाह गरेका कारण दुःख पाएको बताउदै साथीहरूलाई कम उमेरमा विवाह नगर्न सुझाव दिने गरेको बताउनु भयो ।
अहिले पनि २० वर्ष नपुग्दै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गरेको सङ्ख्या धेरै छ । स्वास्थ्य र कानुनी चेतनाको कमीकै कारण पनि उमेर नपुग्दै बिवाह गर्ने र बच्चा जन्माउने किशोरीहरू शारीरिक जोखिममा पर्ने गरेको जिल्ला अस्पताल पाल्पाका मेडिकल सुपरीटेन्डेन्ट डा. पुष्प ज्ञवालीले बताउनु भयो ।
पहिला अभिभावकले नै सानो उमेरमा विवाह गराउथे भने अहिले विभिन्न कारणले आफुखुसी विवाह गर्ने प्रचलनले पनि समस्या आएको रिब्दीकोट गाउँपालिका– १ ख्याहाका नारायण कुमालले बताउनु भयो ।