सरकारले ल्याएको स्वास्थ्य बीमाको सेवा लिन जाजरकोट जिल्ला अस्पताल पुगेका भेरी नपा–४ बस्ने ५१ वर्षीय ओमबहादुर खत्रीलाई स्वास्थ्य बीमा अन्तरगतकाे सेवा निकै झन्झटिलो लाग्यो । बिहान १० बजेबाट खुल्ने काउन्टरमा टिकट काट्न साढे नौ बजे अस्पताल आइपुग्नु भएका उहाँ प्रक्रिया नबुझ्दा कहिले उता त कहिले उता गर्दै हुनुहुन्थ्यो ।
‘बिहान सातै बजे पेटमा समस्या भएकोले उपचार गर्न भनि आएको हुँ । अहिलेसम्म औषधि लिन पाएको छैन, दिनभर त्यत्रो लाइन बसेँ । औषधि लिने पालो आउँदा बीमा गरेकाकाे औषधि छैन भनेर फकाईदिए ।’ओमबहादुरले प्रतिप्रश्न गर्नुभयो–‘बीमाको कोटाको औषधि नै नभए अस्पताल आउनुको के अर्थ ?’
ओमबहादुर जस्तै निशुल्क स्वास्थ्यबीमा अन्र्तगत् औषधि र सेवा लिन जिल्ला अस्पताल पुग्ने अधिकांश बिरामी सेवा नपाएर फर्किनुपरेको गुनासो गर्छन् ।
स्वास्थ्य बीमा बोर्ड, कर्णाली प्रदेशका संयोजक अर्जुन पण्डितले सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम राम्रो भए पनि यसको प्रक्रियाबारे बीमाकर्ताहरू नै स्पष्ट हुन नसकिरहेको बताउनुभयो ।
जिल्लामा रहेका स्थानीय तहका स्वास्थ्य शाखा, जिल्ला अस्पताल, सरोकारवाला निकाय र जनप्रतिनिधिहरूबाट स्वास्थ्य बीमा सम्बन्धी जनचेतना अभिवृद्वि गराउन जरूरी रहेको पण्डितले बताउनुभयो ।
स्वास्थ्य बीमा गरेका बिरामीले औषधि नपाएको बिषयमा जनगुनासो आईरहेको बारेमा जिल्ला अस्पताल, प्रशासन र व्यवस्थापन समितिले समस्या समाधान गर्नुपर्ने समेत संयोजक पण्डितले बताउनुभयो ।
जिल्ला अस्पताल, जाजरकोटका डाक्टर रविन भुसालले जिल्ला अस्पतालमा रहेको फार्मेसीमा औषधि सकिएकोले पनि स्वास्थ्य बीमा गरेका बिरामीले औषधि प्राप्त गर्न नसकेको स्वीकार गर्नुभयो ।
साथै जिल्ला अस्पतालले औषधि खरिद गर्ने स्थानमा विगतमा खरिद गरेको औषधिको ३२ लाख रुपियाँ बराबरको भुक्तानी बाँकी रहेकोले पनि सो रकम भुक्तानी नदिँदासम्म औषधि नआएको डाक्टर भुसालले बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्ड, जाजरकोट शाखाका प्रमुख ईराजन शाहीले स्वास्थ्य बीमा गरेका बिरामीले निःशुल्क पाउनुपर्ने औषधि किन्नुपर्ने भएपछि बीमा किन गर्ने ? भन्ने निराशा बीमितमा रहेको बताउनुभयो । भौगोलिक रूपमा पनि दुर्गममा रहेको जिल्लाका स्थानीय तहमा बीमा अन्र्तगत्को औषधि नहुँदा र जिल्ला अस्पताल टाढा हुँदा पनि बीमा प्रति नागरिकको आर्कषण कम रहेको देखिने शाहीको भनाइ छ ।
नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जिल्ला अस्पतालमा हरेक दिनजसो ३० देखी ३५ जना स्वास्थ्य बीमा गरेका बिरामी उपचारका लागि आउने भएपनि औषधि नपाएपछि मेडिकलबाट औषधि किन्न बाध्य रहेको बताउनुभयो ।
०७४ असार १५ गते कर्णाली प्रदेशमै पहिलो पटक जाजरकोटबाट सुरूवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत् जाजरकोटमा हालसम्म ३५ हजार २ सय ४० जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ बीमा बोर्ड जाजरकोटले जनाएको छ । जुन जिल्लाको कुल जनसङ्ख्याको २० प्रतिशत हो ।