INSEC Online

📅 २०८३ जेष्ठ २१

शान्तिपुर्ण धर्नामा प्रहरी हस्तक्षेप,एक जना घाइते

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउनु पर्ने माग राख्दै जिल्ला अदालत, कञ्चनपुर अगाडी शान्तिपुर्ण धर्नामा बसेका महिला अधिकारकर्मीहरूमाथि पुस २८ गते प्रहरीले हस्तक्षेप गर्दा महिला अधिकारकर्मी शारदा चन्द घाइते हुनु भएको छ ।

प्रहरीको हस्तक्षेपका कारण घाइते भएकी चन्दकोे घांटी र पेटमा चोट लागेको र उहाँको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल,धनगढी लगिएको छ ।

पन्तका हत्यारा पत्ता लगाउनु पर्ने र डेढ वर्ष अगाडी निर्मलाको न्यायका लागि भएको आन्दोलनका क्रममा घाइते भएकाहरूले उपचार तथा क्षतिपुर्ती पाउनु पर्ने मागराखि  आन्दोलनका घाइतेसहित महिला अधिकारकर्मीले जिल्ला अदालत अगाडी धर्ना दिएका थिए ।

प्रहरीले अहिले आएर पनि दिलिप विष्टलाई नै दोषी प्रमाणित गर्न खोजेकाले अदालतको ध्यानाकर्षण गर्न धर्ना कार्यक्रमको आयोजना गरिएको अधिकारकर्मी लक्ष्मी मल्लले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘वास्तविक हत्यारा पत्ता लगाउनुको सट्टा अहिले पनि प्रहरीले दिलिप विष्टलाई नै अपराधी प्रमाणित गर्न खोजिरहेको छ ।  वास्तविक अपराधी पत्ता लगाउनु पर्छ भन्ने हाम्रो माग हो ।’

भीमदत्त नगरपालिका– १९ बागफांटाका दिलिप विष्टलाई यसअघि पनि निर्मला हत्याको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो । डिएनए रिपोर्ट नमिलेपछि थुनामा रहेका विष्टलाई २५ दिनपछि रिहा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ,कञ्चनपुरका एसपी मुकुन्द मरासिनिले महिला अधिकारकर्मीहरूले अदालत अगाडी सञ्चालन गरेको धर्ना कार्यक्रमले अदालतको कार्यसम्पादनमा प्रभाव पर्ने भन्दै धर्ना नगर्न आग्रह गरेको र प्रहरीले महिला अधिकारकर्मीमाथि कुनै किसिमको हातपात नगरेको बताउनु भयो ।

photo20200113kanchanpur (2) photo20200113kanchanpur (1)

 

अन्य

भिडियो