सरकारसँग बाह्रबुँदे सम्झौता भएपछि २२ दिनको आमरण अनशनमा बस्नुभएका चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जका प्रा डा गोविन्द केसीले आज अनशन तोडेका छन् ।

दसौँ पटक आमरण अनशनमा बसेका केसीले आफ्ना शुभेच्छुक र सञ्चारकर्मीबिच भूकम्पमा परी आमा गुमाएका सिन्धुपाल्चोकका अढाइवर्षीया मर्साङ तामाङको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
अनशन तोडेपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले आफ्नो लडाइँ व्यक्तिविशेषका लागि नभई समग्र चिकित्सा शिक्षा र चिकित्सा सेवाको सुधारका लागि भएको बताए । उनले भने-‘राजनीतिक भागबण्डाका कारण उपकुलपतिलाई जोगाइराखेका छन् । उहाँको योग्यताको छानबिन गर्ने विषयमा सहमति भएको छ । यदि छानबिन नभए भने फेरि लड्न सक्ने अवस्था आउन सक्छ ।”
अनशनका क्रममा उनको स्वास्थ्य गम्भीर रहेकाले आजदेखि नै उनलाई थप उपचारका लागि सघन उपचार कक्षमा भर्ना गरिएको राससले जनाएको छ । त्रिविका उपकुलपति डा तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा डा केपी सिँहको राजीनामालगायत बाह्रबुँदे माग राखी गत कात्तिक २८ गतेदेखि केसी अनशनमा बसेका थिए ।
गत कात्तिक २८ गते नियुक्त डिन प्रा डा सिंह वरिष्ठताका आधारमा नियुक्त नभएको भन्दै डा केसीले अनशन थालेपछि डिन सिंहले मङ्सिर १७ गते राजीनामा दिएका थिए । त्यसपछि सरकारले केसीले माग गरेझैँ वरिष्ठताका आधारमा प्रा डा जगदीशप्रसाद अग्रवाललाई मङ्सिर १८ गते नयाँ डिन नियुक्त गरेको थियो ।
सरकारी वार्ता टोली संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र प्रा डा केसीबिच त्रिवि र प्रतिष्ठानको संरचना परिवर्तन गर्न र पदाधिकारी नियुक्तिको कानुन मस्यौदा बनाउनका लागि १५ दिनभित्र उच्चस्तरीय समिति बनाउन सहमति भएको जनाइएको छ ।