बेलडाँडी गाउँपालिका क्षेत्रभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएका कारण बिरामीहरूले सास्ती भोग्नु परेको छ ।
गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारले समयमा औषधि खरिद र आपुर्ति नगरेको कारण बेलडाँडी गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको हो ।
स्वास्थ्य चौकीमा गएर जाँच गराएपछि औषधि सकियो भनेर बिरामीलाई फिर्ता पठाउने गरको बेलडाँडी गाउँपालिका– २ का स्थानीय दीर्घराज ओझाले गुनासो गर्र्नु भयो ।
बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क वितरण गर्नु पर्ने ४५ प्रकारका औषधिमध्ये २० प्रकारका औषधि मात्रै रहेको र ति औषधि पनि पर्याप्त नरहेको बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख माधवनन्द भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो –‘जिल्ला जनस्वास्थ्य कार्यालय हुँदा माग र आवश्यकताको आधारमा औषधि आपुर्ति हुँदै आएको थियो । हाल गाउँपालिका र संघिय सरकारद्वारा प्रदान गरिने औषधि खरिद प्रक्रियामा तालमेल नमिलेका कारण औषधि अभाव भएको हो । जसका कारण स्थानीयहरूले सस्ती भोग्नु परेको छ ।’
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले औषधि आपुर्तिका लागि आवश्यक प्रक्रिया शुरू गरी तुरून्तै स्वास्थ्य संस्थामा निःशुल्क औषधि वितरण गरिने बताउनु भयो ।