सम्मरीमाई गाउँपालिका–६ स्थित ज्ञानदीप ईङलिस बोर्डिङ्ग स्कुल पोखरहवामा कक्षा पाँचमा अध्यनरत १२ वर्षीय मोहम्द तोफिक देवानलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका कम्प्यूटर शिक्षक २५ वर्षीय शैलेन्द्र बरईलाई मर्चवारबाट पुस २० गते गिरफ्तार गरेको छ ।
बालकलाई पुस १६ गते कम्प्युटर विषयको प्रयोगात्मक कक्षामा नजानेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले पुस १८ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका शिक्षक मर्चवारमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको इन्स्पेक्टर पोषणराज ढकालले बताउनु भयो ।
कुटपिटबाट बाँया आँखा र खुट्टामा चोट लागेका बालकको पुस १६ गते श्री लुम्बिनी रण अम्बिका आँखा अस्पताल भैरहवामा उपचार गरिएको थियो ।
इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर पोषणराज ढकालले आरोपित उपर बालबालिका विरूद्धको अपराध कसुरमा कारवाही अगाडि बढाएको बताउनु भयो ।