संसद् सचिवालयमा मङ्सिर १४ गते दर्ता गरिएको संविधान संशोधनको विषयलाई लिएर पश्चिम नेपालका केही जिल्लाहरूमा बन्द आह्वान गरिएपछि मङ्सिर १८ गते चौथो दिनपनि आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार प्रदेश नम्बर ५ का पहाडी जिल्लाहरू छुट्याएर ४ नम्बरमा लैजाने सरकारको प्रस्तावविरूद्ध पाल्पाका राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, युवा, विद्यार्थीलगायतले आयोजना गरेको अनिश्चितकालीन बन्दको चौथो दिन मङ्सिर १८ गते पनि पाल्पाको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ ।

प्रस्तावको विरूद्धमा मङ्सिर १८ गते दिउँसो तानसेनमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागी हुन गाउँ गाउँबाट पैदल हिँडेरै प्रदर्शनकारीहरू सदरमुकाम तानसेन आएका थिए । प्रदर्शनपछि आयोजित कोणसभा नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्य, नेपाली काङ्ग्रेस पाल्पाका सभापति बीरबहादुर राना, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल, नेकपा मालेका अध्यक्ष धनराज पौडेल लगायतले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अगाडि बढाइने बताए ।

बन्दले पाल्पाको तानसेनलगायत ग्रामीण भेगका साथै सिद्धार्थ राजमार्ग र गुल्मी, अर्घाखाँची जाने सडकमा सवारी साधन चलेका छैनन् । पाल्पाबाट छुट्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न सकेका छैनन् । पत्रकार, दूध, पानी, पर्यटक र एम्बुलेन्सलगायतका सवारीसाधनलाई भने प्रदर्शनकारीले विना रोकतोक चल्न दिइरहेका छन् ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार मधेश र पहाडलाई छुट्याउने गरी सरकारले संसदमा संविधान संशोधन प्रस्ताव पेश गरेपछि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा चौथो दिन मङ्सिर १८ गते दिनभर प्रदर्शन जारी रहेको छ ।
विभिन्न राजनीतिक दलका भातृ सङ्गठन युवा विद्यार्थीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मङ्सिर १६ र १७ गते साँझ चार नं जितपुर इमिलियामा राँके जुलुश प्रदर्शन गर्दै सरकारले संविधान संशोधन प्रस्तावको विरूद्धमा नारावाजी गर्दै त्यसको कडा विरोध गरेका थिए । युवा विद्यार्थीले जिल्लाका शैक्षिक संस्था, उद्योग धन्दा कलकारखाना तथा पूर्वपश्चिम राजमार्ग ठप्प पारेका छन ।
सरकारले विवादै नभएको प्रदेशलाई विवाद श्रृजना गर्नुको साथै राष्ट्रलाई विखण्डन बनाउने राष्ट्रघाती संशोधन प्रस्ताव फिर्ता नहुञ्जेल आन्दोलन जारी राख्ने अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष विकास आर्चायले चेतावनी दिएका छन् ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार ५ नं प्रदेशबाट अलग्याउन लागेको विरोधमा जारी जिल्ला बन्दले दैनिक जीवन थप कष्टकर बनेको छ । मङ्सिर १५ गते जारी जिल्ला बन्दले उद्योगी व्यावसायी, यात्रु, सेवाग्राही तथा बिरामीहरूलाई सास्ती भएको छ । अनिश्चतकालीन बन्दले सदरमुकाम तम्घास साथै जिल्लाका व्यापारीक केन्द्र, रिडी, वामीटक्सार, बलेटक्सार सिमलटारी बजार सुनसान बनिरहेका छन् ।

आन्दोलनकारीहरूले जिल्ला विकास समिति र जिल्ला प्रसाशनका कर्मचारीहरूलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् । बिद्यालय तथा शैक्षिक संस्था भने निर्वाध रूपमा सञ्चालनमा छन् । विद्यालयहरूमा अर्धवार्षिक परीक्षा सञ्चालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द नगरिएको संयुक्त आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताए ।
जिल्लामा शान्तिपुर्ण रूपमा विरोध प्रदर्शन भएको तर स्थिति जुनबेला पनि भड्किन सक्छ भनेर सुरक्षाकर्मीहरू तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताए ।

उनले अटेरगरी चलाएका मोटर साइकल र गाडीहरू आन्दोलनकारीले नियन्त्रणमा लिएपछि केही समयमा सम्झाएर छोड्ने गरेको बताए ।
जिल्लाका राजनीतिक दल, एवम् भातृ सङ्घ सङ्गठन, गैरसरकारी सङ्घसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । संविधानप्रति असन्तुष्टी जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य सङ्घका अध्यक्ष दुर्गा पाण्डेयले बताए । विरोध कार्यक्रममा ‘सिमाङ्कन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरू लगाउँदै विरोध गरेका छन् ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार चैथो दिन पनि बन्दका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । बन्दकर्ताहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहालगायतका स्थानमा नाचगान गरी सडक अवरुद्ध गरेका थिए ।

अनेरास्ववियु रुपन्देही, नेविसङघ, अखण्ड प्रदेश नं ५ प्रदेश दबाव अभियान रुपन्देही, अखिल छैठौँलगायतका सङ्गठनहरूले संयुक्त रूपमा बिहानै देखि नारावाजी गरी प्रदर्शन गरेका थिए ।
क्षेत्रका बजार उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्थाहरूलगायत औषधि पसलहरूसमेत मङ्सिर १८ गते पनि खुल्न सकेनन् । अघिल्ला दिनहरूमा झै एम्बुलेन्स, विवाह, सञ्चार, मानव अधिकारकर्मीका गाडीहरू तथा दुधका गाडीहरूलाई भने बन्दकर्ताले चल्न दिएका थिए ।
बन्दकर्ताले चौथो दिन दिनभरी शान्तिपूर्ण आन्दोलन गरेको भएपनि साँझपख सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेपछि केही समय स्थिति तनावग्रस्त भएको थियो । भीड नियन्त्रणका लागि भन्दै प्रहरीले आज पनि लाठी चार्जसमेत गरेको थियो ।
प्रहरीले ढुङ्गा प्रहार गरेको तथा पसलका सटर फुटाउने प्रयास गरेको आरोपमा सात जना प्रदर्शनकारीलाई गिरफ्तार गरेको जनाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।