धनुषाको उत्तरवर्ती क्षेत्रका किसानहरुको आम्दानीको एक मात्र स्रोत नगदेवालीको रुपमा उखु खेती रहेको छ । प्रदेश नं. २ को आठ ओटै जिल्लाको उत्तरवर्ती क्षेत्र महेन्द्र राजमार्गको वरिपरि पानी अभावले गर्दा धान र गहुँ फलाउन किसानलाई सिंचाई समस्या हुँदै आएकाले अधिकांश किसान उखु वाली गर्दै आएका छन् ।

वर्षभरिको आम्दानीको एक मात्र स्रोत उखु बेचेर घर परिवार पाल्नु पर्ने बाध्यता त्यहाँका किसानहरुको छ तर त्यही उखु चिनी मिलले खरिद गरेर वर्षौसम्म रकम भुक्तानी नगर्दा आफुहरुलाई निकै समस्या हुँदै आएको बटेश्वर गाउँपालिका–१ चित्रपुरका अगुवा किसान नेता रामउदगार महतोले गुनासो गर्नु भयो ।
चिनी मिलले हामी किसानबाट सस्तो दरमा उखु खरिद गर्ने गरेको छ । हामीलाई उखु उत्पादन गर्न निकै लगानी लगाउनुपर्छ तर बेचेको उखुको रकम तत्कालै नआउँदा चिनी मिलसम्म लैजान लाग्ने खर्च पनि तिर्न समस्या हुँदै आएको बटेश्वर गाउँपालिकाकै किसान विन्देश्वर महतो बताउनु हुन्छ । वहाँ भन्नु हुन्छ कि अहिले किसानहरुलाई निकै समस्या छ । चिनी मिललाई उखु बेचेर वर्षौ सम्म पैसा नपाउँदा घरव्यवहार चलाउन समस्या र अर्को पल्टको लागि खेतमा उखु रोप्न ऋण लिनुपर्ने बाध्यता छ । किसानको समस्या, पिडा र मेहनत न त सरकारले हेर्छ न त चिनी मिलका उद्योगीले । त्यसैले हामीले सक्दो यस पटक आफ्नो खेतवारीमा लगाएका उखु क्रसिङ गरेर गुँड (मिठ्ठा) बनाउन लागेका छौं ।
खेतमा उखु लगाएका बटेश्वर–१ कै किसान दिलिप महतोले उखु पेल्नकै लागि आफुले क्रसिङ मेशिन खरिद गरेका बताउनु भयो । यसमा आफु पनि क्रसिङ गरेर मिठ्ठा (गुँड) बनाउँदै र छिमेकीहरुले पनि यहाँ क्रसिङ गरेर मिठ्ठा तयार गर्ने गरेको महतोले बताउनु भयो ।
अहिले दिन रात वहाँको क्रसिङमा किसानहरुको भिड लाग्ने गरेको छ । किसानलाई उखु पेल्न भ्याइ नभ्याई भएको छ । चिनी मिललाइ उधारोमा उखु बेच्नु भन्दा अलि बढी मेहनत गरेपछि तत्कालै मिठ्ठा बेचेर नगद आम्दानी लिन सकिन्छ । अहिले किसानहरुको घर आगंनमै समेत आएर व्यापारीहरुले मिठ्ठा (गुँड) खरिद गर्ने गरेकाले गर्दा थोकमा बेच्न समेत किसानलाई सहज छ । किसानहरु चिनी मिललाई उखु नबेचेर क्रसिङ गर्दै मिठ्ठा (गुँड) बनाउन आकर्षित भएको बटेश्वर गाउँपालिकाका अर्का किसान तथा क्रसिङ व्यवसायी सहदेव महतो बताउनु हुन्छ ।
किसानहरुले १ क्विन्टल उखु क्रसिङ गर्दा १० किलोको हाराहारीमा गुँड (मिठ्ठा) तयार हुने गरेको छ । उखु क्रसिङ गरे वापत क्रसर संचालकले तयार भएको प्रति किलो गुँडको ७ देखि ८ रुपैया सेवा शुल्क लिने गर्दछ । त्यसैले १० क्विन्टलमा एक क्विन्टल गुँड तयार गर्ने किसानले ७ सय देखि ८ सयसम्म क्रसर संचालकलाई सेवा शुल्क दिनुपर्ने हुन्छ भने बजारमा प्रति किलो गुँड अहिले ४८ देखि ५० रुपैया प्रतिकिलो बेच्ने गरिएको छ । उखुको सिजन समाप्त हुदाँ गुँडको मुल्य बढ्ने गरेको छ । अहिले नै जनकपुर बजारमा गुँड प्रति किलो ८० देखि ९० रुपैयामा खुद्रा बेचिन्छ ।
चिनीलाई बेच्दा उधारो हुने समस्याका कारण मेहनत गरेर भएपनि तत्कालै नगद आम्दानी लिनका लागि किसानले बाध्य भएर क्रसिङ गर्नुपरेको बटेश्वर–१ का किसानहरु बताउँछन् । स्थानीय नेपाली काग्रेसका क्षेत्रीय नेता समेत रहनु भएका किसान रामउदगार महतोका अनुसार ५ सय ५० सम्म चिनी मिलले किसानसँग उखु खरिद गरे त्यही राम्रो हो तर किसानलाई भुक्तानीमा ढिलो गरेका कारण क्रसिङ गर्नुपर्ने किसानको बाध्यता रहेको छ ।