मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न भएको आरोपमा १५ वर्षीय बालकलाई सिन्धुली जिल्ला अदालतले पुस १५ गते जन्मकैदको फैसला गरेको छ । नाबालक भएकोले आरोपित बालकलाई जन्मकैदको आधा १४ वर्ष १० महिना ७ दिन कैद हुने सजाय हुने अदालतले जनाएको छ । जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो ।
आरोपितले राखेको यौन प्रस्ताव पीडितले अस्वीकार गर्दा असोज २ गते हत्या भएको थियो । घर नजिकैको जंगलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो । शव घाँटी निमोठी हत्या गरिएको अवस्थामा फेला असोज ३ गते परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।
आरोपित बालकलाई २०७६ असोज ५ गते जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो । बालक १८ वर्ष पुरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्नेछ ।