INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका एक जोडी बालबालिकाको उद्धार

फुलकाहा-९ जमुनियाका पञ्चहरूले जबरजस्ती बालविवाह गराउन एक महिनादेखि बन्धक बनाएर राखेका १६ वर्षीय बालक र १४ वर्षीया बालिकाको मङ्सिर १७ गते साँझ उद्धार गरिएको छ ।

बाल संरक्षण तथा सम्बर्द्धन समिति महोत्तरी, सामुदायिक परिवार कल्याण समाज महोत्तरी, इलाका प्रहरी कार्यालय गौशाला र सञ्चारकर्मी सम्मिलित एक टोलीले ती दुई बालबालिकाको उद्धार गरेको हो ।

ती बालबालिकाको एक आपसमा प्रेम सम्बन्ध कायम रहेको भन्दै गाउँका पञ्चहरूले केटा पक्षलाई ८० हजार र केटी पक्षलाई ५० हजार रुपियाँ जरिबाना गरेर बालिकालाई बालकको घरमा राखेका थिए ।

‘गाउँलेले छोरासँग उनको (पीडित बालिका) विवाह गराउन र जरिबाना तिर्न दबाव दिए । उनलाई घरैमा ल्याएर हुलिदिए ।’-पीडित बालककी आमाले भनिन् ।

गाउँलेले विवाह गर्न दबाव दिइरहेको बेला पीडित बालककी आमाले बालसंरक्षण तथा सम्बर्द्धन समिति भरतपुर महोत्तरीमा निवेदन दिएपछि बालिकाको उद्धार गरिएको हो । आफ्नो छोरालाई पीडित बालिकासँग जबरजस्ती विवाह गराउन पञ्चहरूले दैनिक रूपमा घरमा आएर धम्की दिने गरेको समेत पीडित बालिकाकी आमाले आरोप लगाएकी छन् ।

पञ्चहरूले गरेको जरिबाना मङ्सिर १५ गतेसम्म तिर्न समय दिइएको थियो । तर, जरिबाना तिर्न नसक्दा समाजले थप दबाव दिएपछि बाध्य भएर प्रहरी प्रशासनको सहायता लिनु परेकोउनले सुनाइन् ।

ती दुई बालबालिकालाई सुरक्षित साथ इलाका प्रहरी कार्यालय गौशालाले राखेको र पञ्चहरूलाई प्रहरी पठाएर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइने इन्स्पेक्टर शम्भु पोखरेलले बताए ।

यस्तै जमुनियाँका पञ्चहरूले अर्का एक जोडी १३ वर्षीया बालिका र १५ वर्षीय बालकको पनि बालविवाह गराउन लागेको स्थानीयले बताएका छन् ।

उनीहरूबिच प्रेमसम्बन्ध रहेको भन्दै स्थानीय पञ्चहरूले केटी पक्षका अभिभावकसँग ४० हजार रुपियाँ र केटा पक्षका अभिभावकसँग ७५ हजार रुपियाँ रकम जरिबाना तिराएर मङ्सिर १५ गतेका दिन विवाह गर्ने निधो गरेका थिए । तर, पीडित बालकका परिवारमा एक जनाको निधन भएपछि सो विवाह रोकिएको स्थानीयहरूले जानकारी दिएका छन् ।

उनीहरूको पनि बालविवाह गर्न लागिएकोले ती जोडीलाई उद्धार गर्न जरुरी रहेको स्थानीयहरूले बताएका छन् ।

अन्य

भिडियो