INSEC Online

📅 २०८३ जेष्ठ २१

बली दिन लैजाँदै गरेको आरोपमा सात जनालाई गिरफ्तार

२१ वर्षीया युवतीलाई भारतमा पुर्‍याएर बली दिन लागेको आरोपमा प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ ।

०७६ पुस १० गते महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार दिलिप पोद्दारसहित सात जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न कावासोती नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ का २६ वर्षीय कृष्ण तामाङ, सप्तरीको राजबिराज नगरपालिका–१४ का ४० वर्षीय उमेश साह, दाङको घोराही उपमहानगरपालिका–१४ का २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरीको सप्तकोशी नगरपालिका–११ का ३५ वर्षीय उमेश माझी, सुनसरीको गढी गाउँपालिका–१ का ३७ वर्षीय रञ्जितकुमार चौधरी र धादिङको खनियाँबास गाउँपालिका–२ झार्लाङकी २३ वर्षीया प्रेमा तामाङलाई गिरफ्तार गरेको हो ।

बिहारको मन्दिरमा रहेका एक बाबाले ६ फिट उचाइकी युवतीलाई बिहारमै बली दिनका लागि नेपाली व्यक्तिहरूलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरूलाई रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

युवतीलाई मोडलिङ गर्नका लागि छानिएको र नेपाल भारत सीमामा डकुमेन्ट्रीको छायाङ्कन गर्ने भन्दै त्यसबापत रकम दिने प्रलोभन दिइएको पाइएको थियो ।

पीडित युवती र उहाँका आफन्तले आरोपितहरूको व्यवहार शङ्कास्पद लागेको भन्दै प्रहरी समक्ष मौखिक उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले आरोपितहरूको पिछा गरी विराटनगरबाट गिरफ्तार गरेको हो ।

अन्य

भिडियो