INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको उजुरी दर्ता नगरेकोमा कारण देखाउ आदेश

कथित बोक्सीको आरोपमा अमानविय व्यवहार गरेको भन्दै राजविराज नपा–१४ पुरानो टोल परसाहीकी ४६ वर्षीया अमलाकुमारी रामले दिएको उजुरी दर्ता नगर्नाका कारण माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासले पुस ७ गते कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सीताराम मण्डलको इजलाशले जिल्ला प्रहरी कार्यालय सप्तरी, कार्यालय प्रमुख एसपी र जिल्ला सरकारी वकिल कार्यालयका नाममा १५ दिनभित्र कारण देखाउन आदेश जारी गरेको अदालतले जनाएको छ ।

आदेशमा के–कति कारणले परमादेश जारी हुनु नपर्ने हो कारणसहित १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालयमार्फत उपस्थित हुन विपक्षीहरूको नाममा म्याद जारी गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ४ बमोजिम प्रहरी र सरकारी वकिल कार्यालयले अनुसन्धान तहकिकात गरी अभियोग पत्र पेश गर्नुपर्नेमा कानुनी कर्तव्य पुरा गर्न नचाहेकाले अन्यायमा परी परमादेशको लागि पुस ६ गते पीडितले रिट निवेदन दिएको बताउनु भयो ।

पीडितलाई असोज ७ गते ५५ वर्षीय सत्यनारायण राम, उनकी पत्नी ५० वर्षीया रामशोभादेवी राम, २० वर्षीया छोरी सीताकुमारी राम, छोरा बुहारी ३० वर्षीया बेचनीदेवी चमैन र भतिजा ३० वर्षीय जोगेन्द्र रामले कथित बोक्सीको घर भत्काऔँ भनी अपमानजनक व्यवहार गर्दै जगल्टा समाती लाठीले कुटपिट गरेको भन्दै पीडितले असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

असोज १३ गते पीडितको उपचार र घाउ जाँच परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो । आरोपितहरू उपस्थित गराउन अस्थायी प्रहरी पोष्ट तेतरी गाछीका नाममा मङ्सिर १ गते पत्र पठाए पनि आलटाल गरी जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि पीडितले मङ्सिर ३० गते जिल्ला हुलाक कार्यालयमार्फत रजिष्ट्रि गरी उजुरी पठाउनु भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दिँदा निवेदन दर्ता गर्न इन्कार गरेपछि मङ्सिर ३० गते जिल्ला सरकारी वकिल कार्यालयका नाममा समेत निवेदन रजिष्ट्रि गरी पठाएको पीडितका छोरा दिलिप रामले बताउनु भयो ।

छिमेकी इतल रामले आरोपितहरुले कथित बोक्सी भन्दै पीडितलाई पटकपटक कुटपिट गर्दै आएको र गाउँमा छलफल गरी मिलापत्र गर्ने गरिएको बताउनु भयो ।

अन्य

भिडियो