व्यास नपा–११ स्थित मानुङ्दीमा रोकेर राखेको एक्जाभेटरमा पुस ५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
स्थानीय ढुङ्गा खानीमा ढुङ्गा निकाल्ने काममा प्रयोग भइरहेको ग १ क ३४४१ नम्बरको एक्जाभेटरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
व्यास नपा–३ स्थित सिमा भैरव निर्माण सेवा प्रा.लि.को स्वामित्वमा रहेको उक्त एक्जाभेटरमा राति आगजनी भएको र बिहान ढुङ्गा खानीमा मजदुरहरूले देखेपछि मात्रै आफूले थाहा पाएको निर्माण सेवाकी प्रोपराइटर कल्पना पाण्डेले बताउनुभयो ।
आगजनीमा एक्जाभेटरको क्याबिन जलेर नष्ट भएको छ । रोकेर राखेको एक्जाभेटर कसले के कारणले आगो लगाएको भन्ने थाहा हुन नसकेको भन्दै डिएसपी लामिछानेले घटनाको बारेमा उजुरी नआएको र उजुरी परेपछि मात्र थप अनुसन्धान गर्ने बताउनुभयो । निर्माण सेवाकी प्रोपराइटर पाण्डेले पुस ७ गते उजुरी दिने बताउनुभयो ।