राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय तहमा अनिवार्य गराउन माग गरेका छन् ।
जिल्लाको दुर्गम क्षेत्रका महिलाहरू हिंसामा पर्दा समेत न्यायिक निकायसम्म नआउने गरेका कारण अधिकारको बारेमा सबैलाई जानकारी गराउन उक्त माग गरिएको हो ।
राष्ट्रिय महिला आयोगले मङ्सिर १६ गते आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।
दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र बजार क्षेत्रका महिलाहरूले मात्रै प्रहरीमा उजुरी दिने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रतिनिधि पार्वती अवस्थीले बताइन् ।
आर्थिक वर्ष ०७३/७४ को मङ्सिर १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा महिला हिंसासम्बन्धी ४६ ओटा उजुरी परेको र उक्त उजुरीहरूमध्ये एक उजुरी जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सई प्रेम कुँवरले बताए । कुँवरका अनुसार उक्त अवधिमा ४५ ओटा घटनामा मिलापत्र गराइएको छ ।
गाँउ-गाँउमा मानव अधिकार शिक्षा सञ्चालन गर्न सके महिला हिंसालगायत मानव अधिकार उल्लङ्घनका अन्य घटनामा पनि कमी आउन सक्ने महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐरको भनाइ छ ।
अन्तर्क्रिया कार्यक्रममा उठाइएका मागलाई राष्ट्रिय महिला आयोगमा लगेर छलफल गर्ने आयोगकी कानुन सचिव सीता शर्माले प्रतिवद्धता जनाएकी छन् ।