सर्वोच्च अदालतले दिएको तारेख बुझ्न अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की अदालतमा उपस्थित भएपनि उनीमाथि दायर भएको मुद्दाको सुनुवाइ भने स्थगित भएको छ ।
अदालतले कार्की पक्षका वकिल बालकृष्ण न्यौपाने उच्च रक्तचापको कारण अदालतमा उपस्थित नभएको कारण देखाउँदै मङ्सिर १६ गते हुने भनिएको कार्कीविरूद्धको सुनुवाई पेशी सारिएको हो ।
सर्वोच्चका न्यायाधीश जगदीश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कार्कीविरूद्धको सुनुवाइ पेशी अब सार्न नमिल्ने गरी अर्को पेशी पुस ७ गतेका लागि तोकेको जनाएको छ । सर्वोच्च अदालतमा अब हुने सुनुवाइमा निवेदक वा विपक्षी कुनैपनि पक्षको अनुरोधमा पेशी स्थगित नहुने जनाएको छ ।
निलम्बित अख्तियार प्रमुख कार्कीमाथि नियुक्तिको योग्यता, सेवा सुविधा खोस्न माग गर्दै र अदालतको अवहेलना र उनका समर्थकले अदालतको म्याद तामेलीमा गरेको अबरोध लगायतका सात ओटा मुद्दा सर्वोच्चमा दायर भएको छ ।