INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरणमा परेका मगरको आठ घण्टापछि उद्दार

अपहरणमा परेका रामेछापका २१ वर्षीय नरेश थापा मगरलाई आठ घण्टापछि मकवानपुर प्रहरीले पुस २ गते सकुशल उद्दार गरेको छ ।

पीडित मगरलाई पुस २ गते बिहान पौने ३ बजे चार जनाको समूहले हटौँडा उमनपा–४ फरेष्ट्रि क्याम्पस गेट अगाडिबाट अपहरण गरेको थियो ।

अम्लेखगञ्जबाट काठमाडौँ जान लागेको बा २ ज ५९५ नम्बरको ट्याक्सीमा यात्रारत मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका चार जनाको समूहले अपहरण गरेको एसपी मुकेश सिंहले बताउनुभयो ।

आरोपितहरू काठमाडौँ पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापती, कञ्चनपुरको श्रीपुर बस्ने २९ वर्षीय सुनिता धामी, धादिङ नेत्रावती घर भएका कृष्ण गुरुङ र ट्याक्सी चालक आशिक लामाले कुटपटि गरी मगरलाई अपहरण नियन्त्रणमा लिएका हुन् ।

अपहरणकारीले मगरसँगै आएका काभ्रे मण्डनपुरका २८ वर्षीया सरोज सापकोटालाई समेत कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।

अपहरणकारीले मगरलाई बा २ च ५३५६ नम्बरको ट्याक्सीमा राखी हेटौँडा उपमहानगरपालिका–९ लामसुरेकी सरस्वती तामाङको घरमा बन्धक बनाएको प्रहरीले जनाएको छ ।

अपहरणकारीको पञ्जाबाट भाग्न सफल सरोज सापकोटाले प्रहरीमा खबर गरेपछि मकवानपुर प्रहरी अपहणमा परेका मगरको उद्दारका लागि सक्रिय भएको थियो ।

अपहणकारीले मगरलाई कुटपिट गर्दै प्रहरीले फोन सम्पर्क गर्दा समेत आफू काठमाडौँ पुगिसकेको जानकारी दिन बाध्य बनाएकाथिए ।

प्रहरीले मोबाइलको कल लोकेशनका आधारमा मगरलाई आठ घण्टापछि उद्दार गरेको हो । प्रहरीले अपहणमा संलग्न र बन्धक बनाउन सहयोग गर्ने पाँचै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको एसपी सिंहले बताउनुभयो ।

अन्य

भिडियो