INSEC Online

📅 २०८३ जेष्ठ २१

सृङ्खलाबद्ध बम विष्फोटका घटनाप्रति मानव अधिकार संस्थाहरूको ध्यानाकर्षण

धनुषा र सिरहा जिल्लाहरूमा पछिल्लो समय भइरहेको बम विस्फोटका घटनाले मानवीय तथा भौतिक क्षति गराएकोप्रति इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले पुस १ गते विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नपा–५ स्थित राजेश साहको घरमा ०७६ मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत इन्स्पेक्टर अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजको छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो ।

बम विस्फोटमै परेर घाइते हुनुभएका प्रकाश साह, अञ्जली साह, भिखारी साह, अकवर मन्सुर, सकिला खातुन, निक्की साह र प्रहरी जवान रिजनाथ महतोको उपचार भइरहेको छ ।

जनकपुरधाममा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलको उद्घाटन समारोहमा ०७६ मङ्सिर २० गते राति आयोजकले जनकपुर उमनपा–१३ स्थित कभर्ड हलको कम्पाउण्डमा पटाका (बम) पड्काएका थियो ।

यसरी पड्काएको पटाकाको उचित व्यवस्थापन नगरेका कारण सोही ठाउँका ११ वर्षीय आलोक राउतले पटाका सङ्कलन गरी घरमा लगेर खेलाउने क्रममा मङ्सिर २१ गते बिहान ९ बजे गम्भीर घाइते भइ मङ्सिर २४ गते उपचारको क्रममा विपी कोइराला मेमोरियल अस्पताल धरानमा मृत्यु भएको थियो ।

‘बम विस्फोट घटनामा मृत्युवरण गरेका व्यक्तिका परिवारजनलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचारमा सहयोग गर्न नेपाल सरकारसँग माग गर्दछौं ।’–जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा मङ्सिर २७ गते राति भएको बम विस्फोट, मङ्सिर २९ गते धनुषाको जनकपुरधाम उमनपा–९ स्थित वागवानीदेखि सङ्कटमोचन मन्दिरतर्फ जाने बाटोमा राति ९ बजे, मङ्सिर ३० गते बिहान जनकपुरधाम उमनपा–९ कै सरस्वती माध्यमिक विद्यालय र धनुषाधाम नपा–५ पर्वताको माध्यमिक विद्यालयको झ्यालमा बम जस्तो देखिएको शङ्कास्पद वस्तुले जनजीवन त्रसित बनाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

अपराध र आपराधिक गतिविधिले कसैलाई फाइदा नपुग्ने भएकाले मानव अधिकारको प्रत्याभूति हुने कार्य गर्न गराउन सबैमा मानव अधिकार संस्थाहरूले अपिल गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्ने संस्थाहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, एड्भोकेसी फोरम प्रदेश २, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलाइन्स) प्रदेश २, ओरेक नेपाल, महिला अधिकार रक्षक सञ्जाल धनुषा, जिल्ला युवा सञ्जाल धनुषा, निलहिरा समाज र उन्नत नेपाल रहेका छन् ।

अन्य

भिडियो