तिरहुत गाउँपालिका–४ की १४ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा भारत बिहार कर्जाइन ग्राम पञ्चायत कर्जाइन–७ वाइसीका १८ वर्षीय रामकुमार मुखियालाई सप्तरी जिल्ला अदालतले मङ्सिर ३० गते एक महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश सुदर्शन लामिछानेको इजलासले रामकुमारलाई कैद, जरिबानाको फैसला गर्नुका साथै पीडितका ३६ वर्षीय बुबा र ३४ वर्षीया आमालाई जनही ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
पीडित बालिकाको ०७५ जेठ ६ गते रात्रीलग्नमा रामकुमार मुखियासँग विवाह भएको थियो । घरबाट माइत फर्किरहेका बेला पीडितले सुनसरी प्रहरीलाई ०७५ असार १ गते इच्छाविपरीत बालविवाह गराई दिएको भन्दै उजुरी गरेपछि सोही दिन प्रहरीले सुनसरीको भण्टाबारीबाट रामकुमारलाई गिरफ्तार गरी सप्तरी प्रहरीलाई बुझाएको थियो ।
पीडितले बालविवाहमा संलग्न बुबा, आमा र ६० वर्षीय हजुरबुबासहित नाम थाहा नभएका आरोपित रामकुमारका बुबा, आमाविरूद्ध समेत इलाका प्रहरी कार्यालय कञ्चनहरूमा ०७५ असार १ गते उजुरी दर्ता गराउनु भएको थियो ।
जिल्ला अदालतले अपाङ्गता भएको र उमेर १८ वर्ष मात्र भएको भनी ०७५ असार २७ गते आरोपित रामकुमारलाई १५ हजार रुपियाँ धरौटी लिई तारेखमा रिहा गरेको थियो ।