भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा माध्यमिक विद्यालय नहुँदा खल्लामसेटीका बालबालिका दैनिक ६ घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य भएका कारण उनीहरूको पठनपाठन प्रभावित हुँदै आएको छ ।
भौगोलिक रूपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारी साधनको पहुँच नहुँदा यहाँका विद्यार्थीले दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जानु परेको कक्षा ९ मा अध्ययनरत ज्ञानेन्द्र बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘मलगाएत यस वाडाका धेरे विद्यार्थीहरू चुरेफेदको डरलाग्दो बाटोबाट जोखिम मोलेर अध्ययनका लागि दैनिक ६ किलोमिटर पैदल हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ मावि जाने गरेका छौँ ।’
संविधानको मौलिक हकको धारा ३१ को उपधारा १ र २ मा प्रत्येक नागरिकलाई आधारभुत शिक्षाको पहुँच हुनेछ र प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था छ ।
यो गाउँका करिव ८० जना बालबालिका माविसम्मको शिक्षाको पहुँचबाट टाढै बस्नु परेको र त्यसमा आफूहरूले पटकपटक आवाज उठाए पनि अहिलेसम्म सुनुवाइ नभएको स्थानीय दिनेश बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो–‘खल्ला मसेटी गाउँमा रहेको भीमदत्त स्मृद्धि आधारभूत विद्यालयमा यस शैक्षिक सत्रबाट कक्षा ८ सम्मको अध्ययन हुँदैछ । विगतमा ८ कक्षासम्मको अध्ययन गाउँमा नहुँदा धेरै विद्यार्थीले स्कुल छाडेका छन् ।’
भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथले खल्ला मसेटीमा रहेको विद्यालय स्तरोन्नतिका लागि स्थानीय तहले पहल गरिरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘खल्लासम्म कच्ची सडक विस्तार गरिसकेका छौँँ । थप सडक विस्तारका लागि नगरपालिकाबाट डोजर ल्याएर केही दिनभित्रै सुरू गछौँ ।’
भीमदत्त नगरपालिका–९ खल्ला मसेटी र टिडीखेल गरेर सो क्षेत्रमा २ सय ७० परिवारको बसोबास रहेको छ ।