पाथीभरायाङ्वरक गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । ६ ओटा वडाको काम दुई जना सचिवले गर्नुपर्ने भएकाले सेवाग्राही मर्कामा परेका हुन् ।
गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङबोले दरबन्दी अनुसारका कर्मचारी पदपुर्ति हुन कम्तीमा पुस महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । जसका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको अध्यक्ष मेन्याङ्बोको भनाइ छ ।
चार जना सुब्बाको दरबन्दीमा ४ ओटै रिक्त छ । कर्मचारी परिचालन गर्ने शाखा अधिकृत दुई जना रिक्त छ ।
अध्यक्ष मेन्याङबोले भन्नुभयो–‘भौगोलिक बनावट अनुसार वडाका बस्ती धेरै टाढा पर्छ । समय र पैसा खर्चिएर आएपनि बेलैमा काम नहुँदा सेवाग्राहीको गुनासो सुन्नु बाहेक विकल्प छैन् ।’
गाउँपालिकाका प्रशासकीय अधिकृत लोकप्रसाद फागोले कृषि र पशु तथा विषयगत शाखाका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएर सेवा प्रवाह गरिएको बताउनुभयो ।
यद्यपि सेवा प्रभावकारी नहुँदा सेवाग्राहीको गुनासो दैनिकजसो सुने पनि आफूहरूको तहबाट समाधान गर्न सम्भव नभएको फागोको भनाइ छ ।
पञ्जीकरण काम, सामाजिक सुरक्षा भत्ता वितरण तथा योजना सम्झौता र सिफारिस मागका लागि गएका सेवाग्राहीले समस्या सुनाउने गरेका छन् ।
पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका हिमाल मेन्याङबोले कर्मचारी नहुँदा गाउँपालिकाले योजना बनाए बमोजिमको समय अवधिमा कार्यसम्पन्न हुन गार्हो हुने बताउनुभयो ।