कमलामाई नगरपालिका भित्रको एउटा गाउँका सबै घर भुकम्पको लाभग्राही सूचीमा छन् । ३० घर रहेको त्यो गाउँमा भने हालसम्म घर बनाउने सुरसार समेत छैन ।
भूकम्प गएको चार वर्ष बितिसक्दा समेत कमलामाई नगरपालिका–१० मा रहेको सानो गाउँमा घर बनाउने कुनै छाँटकाँटै देखिन्न । लाभग्राही सूचीमा रहेका सबै मानिसहरू भत्किएकै घरमा बसिरहेका छन् ।
सबै परिवारले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ता ५० हजार रुपियाँ अनुदान लिएको पनि दुई वर्ष बितिसकेको छ ।
दलित समुदायको बाहुल्यता रहेको यो गाँउमा अधिकांश परिवारको आयस्रोत ज्याला मजदुरी हो । उनीहरू ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् ।
‘खानेपानीको समेत अभाव रहेको यो गाउँमा घर बनाउने पानी कहाँबाट पाउनु ?’–स्थानीय शुक्रबहादुर दर्नालले भन्नुभयो ।
घर बनाइ नयाँ घरमा बस्ने रहर भएपनि पानीको समस्याका कारण घर बनाउन नसकेको स्थानीयको भनाइ छ ।
समस्याका बारेमा जिल्ला आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार सिन्धुली र कमलामाई नगरपालिकाले खानेपानी ट्याङ्की निर्माण गरी साउनदेखि सबैको घर–घरमा खानेपानी त पुर्यायो तर अनुदानबापतको पैसा भने मासिइसकेको छ ।
गाउँका बासिन्दा कतिपयले अनुदानको पैसाले दुःख बिरामीमा खर्च गरे भने कतिले चाडबाड मानेर रकम खर्च गरेको बताएका छन् ।
शुक्रबहादुर भन्नुहुन्छ–‘सरकारले दिने ३ लाख रुपियाँले घर बन्दैन । आफूले थपेर बनाउन सकिन्न । दुई कोठे घर बनाउँदा ६ लाख रुपियाँ जति लाग्दो रहेछ । ज्याला मजदुरीको पैसाले छोरा छोरी पढाउँ की बिहान बेलुकाको छाक टारौँ ?’
यहाँका सबै लाभग्राहीको अवस्था दर्नालको जस्तै भएकाले घर बनाउन लगाउन नसकिएको वडा अध्यक्ष रामहरि ढुङ्गेलले बताउनुभयो ।
उहाँका अनुसार ऐलानीको समस्या समाधान भइसकेको छ तर लाभग्राहीले घर बनाउने सुरसार गरेका छैनन ।’
जिल्लामा रहेका ५२ हजार २ सय ६२ लाभग्राहीमध्ये हालसम्म १९ हजार २ सय ३८ घरधुरीले मात्रै निजी आवास पुनःनिर्माण गरेको जिल्ला आयोजना कार्यान्वयन एकाई सिन्धुलीका तारा लामिछानेले बताउनुभएको छ ।