जिल्लामा विभिन्न स्थानीय तहका १५ वडा सचिवविहीन हुँदा सेवा प्रवाहमा समस्या भई सेवाग्राही मारमा परेका छन् ।
एक नगरपालिका र सात गाउँपालिकामा गरी जम्मा ६० मध्ये रिक्त रहेका १५ वडा छिमेकी वडाका सचिवले सञ्चालन गर्नुपर्दा सेवाग्राही मारमा परेका हुन् ।
यसरी दोहोरो भूमिकामा रहेका सचिव समेत अधिकांश प्राविधिक फाँटका छ्न् । याङवरक गाउँपालिकाको वडा नं. १ र २ मा कृष्ण खरेल, वडा नं. ३ र ५ मा सूर्य सेलिङ कार्यरत हुनुहुन्छ ।
दुवै जना प्राविधिक सहायक हुनुहुन्छ ।
हिलिहाङ गाउँपालिको वडा नं. १ र २ मा ज्ञानु अधिकारी, वडा नं. ३ र ६ मा भूवन पासवान कार्यरत छन् । यसैगरी, कुम्मायक गाउँपालिकाको वडा नं. ३ र ४ मा विनोद दास वडा सचिवको रूपमा कार्यरत हुनुहुन्छ ।
फालेलुङ गाउँपालिकाको वडा नं. १ र २ मा राजेन्द्र खत्री, वडा नं. ६ र ७ मा प्रजा बास्कोटा वडा सचिवका रुपमा कार्यरत हुनुहुन्छ । उहाँहरू दुवै जना प्राविधिक सहायक हुनुहुन्छ ।
सोही गाउँपालिकाको वडा नं. ३ र ४ मा मानप्रसाद सावदेन, वडा नं. ५ र ६ मा हर्क जवेगू कार्यरत हुनुहुन्छ । उहाँहरू गाउँपालिकाले करारमा नियुक्त कर्मचारी हुनुहुन्छ ।
मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ र २ मा प्राविधक सहायक बर्तबहादुर माखिमले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ भने सवइञ्जिनियर योगन्द्र राईले वडा नं ४ र ६ सञ्चालन गरिरहेका छन् ।
पशु सेवा फाँटमा कार्यरत छैठौँ अधिकृत विष्णुकुमार राईले वडा नं. ७ र ८ को जिम्मेवारी निर्वाह गरिरहनुभएको छ भने सुरेश गौतम वडा नं. ३ र ५ मा कार्यरत हुनुहुन्छ ।
तुम्बेवा गाउँपालिकाको वडा नं.४ र ५ मा कार्यरत दिपेश मुखिया पनि समायोजन भएर गएपछि वडा नं. ३ मा कार्यरत सहलेखापाल खेम थापाले तीन ओटै वडाको जिम्मेवारी बहन गर्नुपरेको छ ।
फिदिम नगरपालिकाको वडा नं. २ र ४ मा शोभित शाहले वडा सचिवको रूपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । नगरपालिकाका अधिकांश सचिव नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी रहेका छन् ।
स्थानीय तहमा वडा सचिव नभएपछि जनताले सेवा लिन समस्या भएको याङवरक गाउँपालिका–२ का मचिन्द्रप्रसाद बेघाले बताउनुभयो ।
नागरिकताको सिफारिस, योजना सम्झौता, पञ्जिकरणलगायतका कार्य गर्न हप्तामा दुई दिन मात्र कार्यालयमा आउने सचिवलाई कुर्नु पर्ने अवस्था भएको उहाँको गुनासो छ ।
कुन दिन सचिव वडा कार्यालयमा हुन्छन् भनी बुझेर मात्र सेवा लिन जानु पर्ने अवस्था आएको फालेलुङ गाउँपालिका–७ का भीम बास्कोटाले बताउनुभयो ।
दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाह गर्न समस्या भएको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताउनुभयो ।
कार्यरत वडा सचिव पनि प्राविधिक फाँटका भएकाले यथा समयमा सेवा प्रवाह गर्न नसकिएको फालेलुङ गाउँपालिकाकी उपाध्यक्ष हिमा अधिकारीले बताउनुभयो ।